खोटाङ, ६ वैशाख । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ओखलढुङ्गामा अलपत्र परेकी सुत्केरीलाई एम्बुलेन्समार्फत उद्दार गरेको छ । तीन दिनअघि सुत्केरी भइ मिसन अस्पताल ओखलढुङ्गाबाट डिस्चार्ज भएकी वडा नम्बर–४ खाल्लेकी ज्ञानकुमारी घिमिरे लकडाउनका कारण घर फर्कन नसकेपछि नगरपालिकाले शनिबार दिक्तेलबाट एम्बुलेन्स पठाएर उद्दार गरेको हो ।
यस्तै, पाठेघरको शल्यक्रिया गरी बिचल्लीमा परेकी वडा नम्बर–८ बुवालुङकी भीमा राउत र उनको परिवारलाई नगरले सहयोग गरेको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । उपचारक्रममा काठमाडौँमा रहेका राउत परिवारलाई त्यहाँ बसेको अवधिभर नगरपालिकाले खाद्यान्नको व्यवस्था मिलाइदिएको छ ।
यसैगरी, काठमाडौँको वीर अस्पतालमा मुटुको शल्यक्रिया गरी डिस्चार्ज भएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका तुले कामी र उनको परिवारलाई काठमाडौँको बसाइ अवधिभरका लागि खाद्यान्न व्यवस्था मिलाइएको नगर प्रमुख रिजालले जानकारी दिनुभएको छ ।
उपचारको क्रममा विभिन्न शहर पुगेर डिस्चार्ज भएपछि अलपत्र परेका तथा अध्ययनको सिलसिलामा रहेर बिहान÷बेलुका छाक टार्न समस्यामा परेका व्यक्तिलाई नगरपालिकाको तर्फबाट उद्दार कार्य थालिएको उपप्रमुख विणादेवी राईले जानकारी दिनुभयो । “देशभर लागू गरिएको लकडाउनका कारण यातायात नचल्दा विभिन्न ठाउँमा नगरबासीहरु अलपत्र परेको कुरा जानकारीमा आउन थालेको छ”, उहाँले भन्नुभयो, “उनीहरुलाई ल्याएर अनिवार्य क्वारेन्टाइनमा राख्नेगरी उद्दार कार्य थालिएको हो ।”
पन्ध्र वडा रहेको नगरपालिकाका वडा नम्बर–१० पाथेका र ११ खार्मीमा एउटा वडाबाट अर्को वडा प्रवेश गर्न रोक लगाइएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण एउटा वडाबाट अर्को वडामा फैलन नदिन पाथेका र खार्मीले सूचना जारी गरेर रोक लगाएको हो ।