खोटाङ, ७ वैशाख । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका हप्तादिनको लागि शिलबन्दी गरेको छ । छिमेकी जिल्ला उदयपुरमा १२ जना सङ्क्रमित भेटिएसँगै खोटाङ पनि उच्च जोखिममा रहेको ठहर गर्दै समितिको आज (आइतबार) बसेको बैठकले जिल्ला प्रवेश गर्ने नाका हप्तादिनको लागि शिलबन्दी गरेको हो ।
दैैनिक उपभोग्यवस्तु भित्र्याउने तथा विभिन्न बहानामा बाहिरी जिल्लाका स्थानीय बासिन्दा जिल्ला भित्रिनेक्रम बढ्दै गएकाले नाका शिलबन्दी गरिएको समितिका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताउनुभयो । “नाका खुला हुँदा बाहिरी जिल्लासँगको आवतजावत जारी रहने र सङ्क्रमण फैलिन सक्ने सम्भावना बढी देखिएको छ”, उहाँले भन्नुभयो, “विश्वभर महामारीको फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका शिलबन्दी गरिएको हो ।”
संयोजक चाम्लिङका अनुसार समितिको निर्णयलाई उलङ्घन गरेर लुकीछिपी जिल्ला प्रवेश गरेको पाइएमा अनिवार्य १४ दिनसम्म क्वारेन्टाइनमा राखिनेछ । जिल्ला प्रवेश गर्ने नाका शिलबन्दी गरिएसँगै सम्पूर्ण नाकामा जिल्लास्थित जनपद तथा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको जनाइएको छ ।
जिल्लास्थित दश वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख सदस्य रहेको उक्त समितिको बैठकले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि हरेक स्थानीय तहमा ‘हेल्लो स्थानीय तह प्रमुख’ कार्यक्रम सञ्चालन गर्ने, अत्यावश्यक कामका लागि दैनिक बिहान ७ बजेदेखि १० बजेसम्म मात्र खुला बजार गर्ने, स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सामग्री अभाव रहेकाले सङ्घ तथा प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको छ । यस्तै, कोरोना भाइरस नियन्त्रण सम्बन्धी आवश्यक दक्ष चिकित्सक जिल्लामा अपुग रहेकाले थप चिकित्सकको सङ्ख्या सङ्घ तथा प्रदेश सरकारसँग माग गर्ने, कोरोना भाइरस (कोभिड–१९)को असर तथा नियन्त्रण गर्ने उपायका बारेमा गाउँगाउँमा गएर जनचेतना फैलाउने लगायतका निर्णय गरिएको संयोजक चाम्लिङले बताउनुभयो ।
जिल्ला समन्वय समितिको सभाहलमा आयोजिक समितिको बैठकले सरकारले लागू गरेको लकडाउन जिल्लाका ग्रामिण क्षेत्रमा प्रभावकारी नभएको ठहर गर्दै आगामी दिनमा कडाइ गर्ने निर्णयसमेत गरेको छ । अधिकांश ग्रामिण क्षेत्र रहेको जिल्लामा लकडाउन शुरु हुनुभन्दा अगाडि तथा शुरु भएपछि प्रवेश गर्ने स्थानीय बासिन्दाहरु आपसमा जम्मा भएर खोलामा माछा मार्ने, डाँडा घुम्ने र वनभोज खाने जस्ता क्रियाकलाप गरिरहेको पाइएकाले थप कडाइ गर्ने निर्णय गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा अहिले कोरोना भाइरस (कोभिड–१९)को ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) भइरहेको छ । अहिलेसम्म ५६ जना व्यक्तिमा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिनुभयो ।
चैत यता घर आएका सबैको ¥यापिड डाइग्नोस्टिक टेष्ट गर्नेगरी तालिम प्राप्त स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जनाइएको छ । ¥यापिड डाइग्नोस्टिक टेष्टका लागि प्रदेश सरकारबाट १२० वटा मात्र किट आएकाले थप सङ्ख्या पठाइ दिन सङ्घ तथा प्रदेश सरकारसँग माग गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा रोजगारीको सिलसिलमा विभिन्न देशमा बसेर लकडाउन शुरु भएपछि घर फर्किएका अधिकांश स्थानीय बासिन्दालाई घरैमा राखिएको पाइएको छ । स्थानीय तहका जनप्रतिनिधिले होम क्वारेन्टाइन भन्दै घरैमा बस्न दिएपछि जिल्लामा निर्माण गरिएका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून देखिएको छ ।
दश वटै स्थानीय तहमागरी ३०४ शैयाको क्वारेन्टाइन र १३ शैयाको आइसोलेसन वार्ड रहेको जिल्लामा अहिलेसम्ममा क्वारेन्टाइन बस्नेको सङ्ख्या ८७ जना पुगेको जनाइएको छ । क्वारेन्टाइन बस्ने व्यक्तिलाई सम्बन्धित स्थानीय तहले खाना तथा खाजा र स्वास्थ्य उपचारको व्यवस्था गरेका छन् ।