औषधि सेवन गर्न नपाएका बिरामीलाई गाउँपालिकाले निःशुल्क उपलब्ध गराउने

Halesi Khabar
0 Shares

खोटाङ, ८ वैशाख । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले नियमित औषधि सेवन गरिरहेका विभिन्न प्रकृतिका बिरामीलाई उनीहरुको घरैमा लगेर निःशुल्क औषधि उपलब्ध गराउने भएको छ । ‘कलकडाउन’का कारण औषधि लिन जान नपाउँदा समस्यामा परेका ३०८ जना बिरामीलाई गाउँपालिकाले आफै औषधि खरिद गरेर उनीहरुको घरैमा लगेर निःशुल्क उपलब्ध गराउने भएको हो ।

ब्लड प्रेसर, सुगर, युरिक एसिड, मुटु रोग, ग्याँस्ट्रिक, अल्सर, पिसाब पोल्ने लगायतका समस्या भएका र नियमित औषधि सेवन गरिरहेका बिरामीलाई गाउँपालिकाकातर्फबाट औषधि ल्याएर निःशुल्क प्रदान गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो । “लामो समयको ‘लकडाउन’का कारण अधिकांश बिरामीको औषधि सकिन लागेकाले १५÷१५ दिन पुग्ने औषधि निःशुल्क ल्याइदिन लागिएको छ”, उहाँले भन्नुभयो, “स्थानीय स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वएम्सेविकामार्फत सिफारिस भएर आएको बिरामी तथा औषधिको नाम र मात्राका आधारमा आज (सोमबार) नै औषधि खरिद गर्नका लागि कर्मचारीलाई पठाइएको छ ।”

जिल्लाको दक्षिण क्षेत्रमा पर्ने सो गाउँपालिकाको वडा नम्बर–१ याम्खामा ८० जना, वडा नम्बर–२ डाँडागाउँमा ३३, वडा नम्बर–३ छोरम्बुमा ११, वडा नम्बर–४ बतासेमा ६७, वडा नम्बर–५ सछितापोखरीमा ३७, वडा नम्बर–६ छितापोखरीमा २५ र वडा नम्बर–७ टेम्मामा ५५ जना बिरामीले नियमित औषधि सेवन गरिरहेका छन् । लकडाउनका बाहिरी जिल्लाबाट औषधि ल्याएर सेवन गर्न नपाएका सर्वसाधारणलाई गाउँपालिकाले ल्याएर निःशुल्क उपलब्ध गराउने भएपछि बिरामीहरु हर्षित भएका छन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सबैको ध्यान केन्द्रित भइरहेको अवस्थामा सो गाउँपालिकाले रुघाखोकी, झाडापखाला, ज्वरो लगायतका मौसमी महामारी फैलिने खतरा पनि उत्तिकै भएको भन्दै स्वास्थ्य संस्थालाई रु पाँच÷पाँच लाख मुल्य बराबरको जगेडा औषधि खरिद गरेर प्रदान गरेको थियो । जिल्लाका अधिकांश स्थानीय तहका स्थानीय बासिन्दा लामो समयको लकडाउनका कारण नियमित सेवन गर्दै आएको औषधि सकिएपछि ल्याउन नपाँदा अहिले समस्यामा परेका छन् ।

यसैबीच, उदयपुरमा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमित १२ जना फेला परेपछि सो गाउँपालिकाको नाका शिलबन्दी गरिएको छ । छिमेकी जिल्लामा कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति फेला परेपछि आफ्नो गाउँपालिका पनि उच्च जोखिममा रहेको भन्दै हरेक नाकालाई शिलबन्दी गरेको हो ।

प्रशासनको सवारी पास लिएर आएका व्यक्तिलाईसमेत गाउँपालिका प्रवेशमा रोक लगाइएको गाउँपालिका प्रमुख राईले बताउनुभयो । “नाका सिलबन्दी गरिएपछि हाम्रो गाउँपालिका प्रवेश गर्ने जोकोहीलाई १४ दिन क्वारेन्टाइनमा राख्छौँ”, उहाँले भन्नुभयो, “अहिले हाम्रो गाउँपालिकामा क्वारेन्टाइन बस्नेको सङ्ख्या ५२ पुगेको छ ।”

दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्ममा क्वारेन्टाइन बस्नेको सङ्ख्या ८७ जना पुगेको छ । क्वारेन्टाइन बस्ने व्यक्तिलाई सम्बन्धित स्थानीय तहले खाना तथा खाजा र स्वास्थ्य उपचारको व्यवस्था गरेका छन् ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा अहिले कोरोना भाइरस (कोभिड(१९)को ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) भइरहेको छ । अहिलेसम्म ५६ जना व्यक्तिमा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया