नेपाली सेनाले चीनबाट दुई अर्ब २६ करोडको स्वास्थ्य सामग्री ल्याउँदै

Halesi Khabar
0 Shares

काठमाडौँ । नेपाली सेनाले चीनबाट ल्याउन लागेको ७६ थरीका स्वास्थ्य सामग्री र औषधिहरुको मूल्य दुई अर्ब २६ करोड सात लाख ८१ हजार ४७ रुपैयाँ रहेको छ । सेनाले चीनको सरकारी कम्पनी सिनो फार्मसँग गरेको सम्झौताअनुसार अनुसार सेनाले उक्त फार्मलाई राष्ट्र बैंकमार्फत एक करोड ८४ लाख ४१ हजार ७०६ अमेरिकी डलर भुक्तानी गरेको हो ।

अमेरीकी डलरको नेपाली रुपैयाँ करिब दुई अर्ब २६ करोड सात लाख ८१ हजार ४७ हुन आउँछ । सम्झौता गरेको दुई दिनभित्र रकम भुत्तानी गर्नु पर्ने व्यवस्थाअनुसार सेनाले वैशाख ७ गत नै भुक्तानी गरिसकेको छ ।

नेपालको तर्फबाट सेनाका सम्भाररथी प्रभुराम शर्मा र चीनको तर्फबाट त्यहाँका वाणिज्य मन्त्रालयका प्रतिनिधिबीच सम्झौता भएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । प्रवक्ता पाण्डेले उक्त कम्पनीले सम्पूर्ण सामग्री गोन्जाउमा जम्मा गरिदिने र त्यसपछि ढुवानी गरेर नेपाल ल्याउने बताउनुभयो ।

उहाँले अतिआवश्यक सामग्रीहरु जस्तै पीपीई, एन–९५ र पीसीआर टेष्टका सामग्रीहरुलाई पहिलो चरणमा वाइडवडी वा अन्य विमानबाट छिटै ल्याउने बताउनुभयो । सेनाले सुरुमा अतिआवश्यक सामग्री विमानबाट ल्याउने र त्यसपछि अन्य सामग्री सडक यातायात मार्फत पनि ल्याउन सक्ने जनाएको छ ।

प्रवक्ता पाण्डेका अनुसार सडक ढुवानीको लागि चीनस्थित नेपाली राजदुतावासमा रहेका सैनिक सहचारीबाट र नेपालस्थित चिनियाँ राजदुतावासबाट एजेन्टहरुको खोजी भइरहेको छ । प्रवक्ता पाण्डेले सम्झौता अनुसार फर्मले पैसा प्राप्त भएको सात दिन भित्रमा अतिआवश्यक सामग्री जम्मा गरिदिने र गोन्जाउमा रहेको महावाणिज्य दुतावासले खबर गर्ने र त्यसलाई ल्याउनको लागि जहाजको तयारी गर्ने बताउनुभयो ।

अन्य स्वास्थ्य सामग्री र औषधिहरु भने दुई साताभित्र जम्मा हुने र त्यसपछि ल्याउने बताए । उनले विश्वभरबाट स्वास्थ्य सामग्री माग भएकोमा नेपाल ८१ औ नम्बरमा परेको चिनियाँ पक्षले जानकारी दिएको बताउनुभयो । “त्यसका बाबजुद हामीले अतिआवश्यक सामग्रीलाई एक साता भित्रमा दिनको लागि भनेका छौँ”, उहाँले भन्नुभयो ।

भारतबाट भने औषधि ल्याउन अझै केही सामय लाग्ने भएको छ । प्रवक्ता पाण्डेका अनुसार भारतबाट ल्याउने औषधिहरु दोस्रो चरणमा पछि आवश्यक पर्ने छन् ।

तपाईको प्रतिक्रिया