गाईघाट । उदयपुरको भुल्केबाट परीक्षणका लागि शनिबार कोसी अस्पताल विराटनगर गगिएका स्वाबको नमूना परीक्षणमा आठ जनामा कोरोना सङ्क्रमणको आशंका गरिएको छ । यसअघि १३ जनामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएपछि मस्जिद नजिकको बस्तीका ६९ जनाको स्वाब परीक्षण गर्न धरान लगिएको थियो ।
तीमध्ये आठ जनाको नमुना परीक्षण गर्दा सङ्क्रमण देखिएको अस्पताल स्रोतले बताएको छ । नमूना परीक्षण गर्दा सङ्क्रमण देखिएपछि यकिन गर्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमूना परीक्षण गरिने भएको छ ।
प्रदेश १ सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार कोसीमा गरिएको परीक्षणमा पोजेटिभ देखिएको तर अन्तिम पुष्टिका लागि थप परीक्षण गर्नुपर्ने बताइएपछि धरानस्थित प्रतिष्ठानमा दोर्होयाएर परीक्षण गर्न लागिएको जनाइएको छ । उनीहरु सबैलाई उदयपुरबाट एम्बुलेन्समा धरान पठाइएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभएको छ ।
संक्रमण देखिएका भनिएका व्यक्तिहरु सबै पुरुष हु्न् । उनीहरु सबै वयस्क उमेरका रहेका छन् । उदयपुरका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले दुईवटा एम्बुलेन्समा राखेर उनीहरुलाई धरान पठाइएको बताउनुभयो ।
मस्जिदमा बसेकाहरु गाउँबस्तीका बासिन्दाको सम्पर्कमा आएको हुन सक्ने भन्दै गाउँलेको नमुना संकलन गरेर परीक्षण गरिएको जनाइएको छ । नजिकै रहेको सेनाको गुल्मका सैनिकहरुको पनि नमुना संकलन गरी काठमाडौं लगिएको छ ।
यसअघि उक्त मस्दिमा बसिरहेका १३ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि शुक्रबार भइसकेको छ । उनीहरुलाई विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा राखेर उपचार शुरु गरिएको जनाइएको छ ।
उनीहरुसँगै ल्याइएका अरु तीनजनालाई मोरङको टाँडीस्थित क्वारेन्टाइनमा राखिएको छ । सङ्क्रमित बसेकोलगायत उदयपुरका छ वटै मस्जिद सिल गरिएको छ ।
भुल्के मस्जिद आसपासका ५२ परिवारका ६९ स्वाब संकलन गरी विराटनगर लगिएको थियो । शनिबार विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.जयबेन्द्र यादवको नेतृत्वमा उदपुर आएको चिकित्सक टोलीले मस्जिद आसपासका बासिन्दा स्वाब संकलन परीक्षणका लागि लगेको हो ।