नेपालमा कोरोना सङ्क्रमितको संख्या ३२ पुग्यो, नयाँ सङ्क्रमित उदयपुरका ३३ वर्षीय पुरुष

Halesi Khabar
0 Shares

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ३२ पुगेको छ । मङ्गलबार थप एक जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । प्रवक्ता देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणमा पोजिटिभ देखिएको हो ।

सोमबार उदयपुरको भुल्के क्षेत्रबाट २५१ जनाको थ्रोट स्वाब लिएर नेपाली सेनाको चिकित्सक टोली काठमाडौं आएको थियो । उदयपुरको भुल्केस्थित मस्जिद वरपरबाट लिइएको ६९ जनाको नमुनाको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा आठ जनामा पोजिटिभ भएको शंका लागेपछि थप यकिन गर्न उनीहरुलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

यसअघि उदयपुरको भुल्केमा ११ भारतीय र २ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बस्तीका बासिन्दाको पनि स्वाब संकलन र परीक्षण गरिएको जनाइएको छ । उदयपुरबाट संकलन गरिएका केही व्यक्तिका कोरोना संक्रमणको आशंका गरिएपछि धरान र विराटनगरमा पीसीआर परीक्षण गरिँदैछ ।

त्यस्तै मङ्गलबारसम्म देशभरी आरडीटी विधिबाट २७ हजार ९५६ जनाको परीक्षण भएको छ भने पीसीआर विधिबाट आठ हजार ८६८ नमूना परीक्षण भएको छ । हालसम्म दुवै विधिबाट गरी ३६ हजार ७१९ को परीक्षण भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया