खोटाङ, ९ वैशाख । हलेसी तुवाचुङ नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा खटिएका स्वास्थ्यकर्मीको मृत्यु भएमा आश्रित परिवारलाई रु दश लाख दिने निर्णय गरेको छ । नगरपालिकाले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा व्यवस्थापनका क्रममा खटिएका स्वास्थ्यकर्मी र कार्यालय सहयोगीलाई प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि तयार पारेर प्रोत्साहन भत्तासमेत प्रदान गर्ने निर्णय गरिएको नगरप्रमुख इवन राईले बताउनुभयो ।
नगरकार्यपालिकाको बैठकले कोरोना रोकथाम तथा व्यवस्थापन गर्न नगरपालिकाबाट विनियोजित बजेट रकमान्तर गरेर नगरस्तरीय बिपद व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ । कोरोना भाइरस नियन्त्रण, राहत वितरण तथा क्वारेन्टाइन सञ्चालन लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री खरिद गर्न बजेट नभएकाले अन्य शीर्षकको बजेट कोषमा जम्मा गरेर खर्च गर्ने तयारी गरिएको हो ।
नगर परिषद्बाट विनियोजित मर्मत सम्भार कोषमा राखिएको रकमबाट रु एक लाख ५० हजार, मेलमिलाप केन्द्रको रु चार लाख र महिला सहकारी भवनको रु दश लाख बजेट रकमान्तर गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । मर्मत सम्भारको स्वास्थ्य सामग्री खरिद, मेलमिलाप केन्द्रको क्वारेन्टाइन सञ्चालन तथा महिला सहकारी भवनको बजेट राहत वितरणमा खर्च गरिने नगरप्रमुख राईले बताउनुभयो ।
नगरकार्यपालिकाको बैठकले अन्यत्रबाट घर आएका व्यक्तिलाई होम क्वारेन्टाइनमा राख्न वडास्तरीय समन्वय समितिलाई जिम्मेवारी दिने, चैत यता घर आएका स्थानीयलार्ई ¥यापिड डाइग्नोस्टिक टेष्टका लागि अनिवार्य उपस्थित गराउन समन्वय गर्ने लगायतका निर्णयसमेत पारित गरेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त नगरपालिकामा चैत यता विदेशबाट घर फर्किएर होम क्वारेन्टाइनमा बसेका २३ जना व्यक्तिमा सोमबार गरिएको ¥यापिड डाइग्नोस्टिक टेष्ट रिर्पोट नेगेटिभ आएको छ ।
कोरोना भाइरसको १२ जना सङ्क्रमित भेटिएको उदयपुर जिल्लासँग सिमाना जोडिएको उक्त नगरपालिकाले नाकामा हुने आवतजावतमा रोक लगाएको छ । छिमेकी जिल्लासँगै एक वडाबाट अर्को वडामा ओहोरदोहोर गर्नमासमेत रोक लगाउन सबै वडालाई पत्राचार गरिएको नगरप्रमुख राईले बताउनुभयो ।
दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म गरिएको ¥यापिड डाइग्नोस्टिक टेष्टमा सबै ९२ जनाको रिर्पोट नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिनुभयो । ¥यापिड डाइग्नोस्टिक टेष्टमा नेगेटिभ रिर्पोट देखिएका हलेसी तुवाचुङ नगरपालिकाका पाँच जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तीन जनाको पिसिआर टेष्ट गर्न नमूना सङ्कलन गरेर कोशी अस्पताल विराटनगर पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले १२० वटा किट पठाएपछि विदेशबाट घर फर्किएका जिल्लाका १२० जना व्यक्तिको पहिलो चरणमा ¥यापिड डाइग्नोस्टिक टेष्ट शुरु गरिएको जनाइएको छ । चैत यता विदेशबाट फर्किनेको सङ्ख्या अधिक रहेकाले थप किट तत्काल पठाउन सङ्घ तथा प्रदेश सरकार समक्ष माग गरिएको जनाइएको छ ।
३०४ शैयाको क्वारेन्टाइन र १३ शैयाको आइसोलेसन वार्ड रहेको जिल्लामा अहिलेसम्ममा क्वारेन्टाइन बस्नेको सङ्ख्या ९७ जना पुगेको छ । क्वारेन्टाइन बस्ने व्यक्तिलाई सम्बन्धित स्थानीय तहले खाना, खाजा र स्वास्थ्य उपचारको व्यवस्था गरेका छन् ।