सुरक्षाकर्मी र सञ्चारकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री

Halesi Khabar
0 Shares

खोटाङ, १० वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरक्षाकर्मी र सञ्चारकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरेको छ । नगरपालिकाले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मी तथा समाचार सङ्कलन एवम् प्रशारणमा खटिएका सञ्चारकर्मीलाई व्यक्तिगत सुरक्षाका लागि प्रयोग गरिने पिपिई, मास्क, स्यानिटाइजर, सोडियम क्लोराइड लगायतका स्वास्थ्य सामग्री आज (बुधबार) प्रदान गरेको हो ।

नगरपालिकाले जिल्ला प्रहरी कार्यालय खोटाङलाई पिपिई तीन सेट, सर्जिकल मास्क ७५ वटा, स्यानिटाइजर दुई बोत्तल, सोडियम क्लोराइड पाँच लिटर उपलब्ध गराएको छ भने सशस्त्र प्रहरी बल हलेसी गुल्मलाई पिपिई तीन सेट, सर्जिकल मास्क ५० वटा, स्यानिटाइजर दुई बोत्तल र सोडियम क्लोराइड पाँच लिटर उपलब्ध गराएको हो ।

यस्तै, कोरोना भाइरस सक्रमणको जोखिमका बेला पनि आम नागरिकलाई सु–सूचित गर्न निरन्तर समाचार सङ्लनमा खटिएका सञ्चारकर्मीका लागि केएन ९५ को मास्स २५ वटा, स्यानिटाइजर तीन बोत्तल र लुज ग्लोब्स ४० जोर उपलब्ध गराएको नगरपालिकाका स्वास्थ्य संयोजक तीर्थराज आचार्यले बताउनुभयो ।

सङ्कटका घडीमा पनि टेलिभिजन, रेडियो, अनलाइन र राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाका सञ्चारकर्मीहरु जोखिम मोलेर भएपनि समाचार सङ्कलन एवम् प्रशारण गरिरहेकाले उनीहरुको सुरक्षाका लागि सामग्री उपलब्ध गराइएको नगरप्रमुख रिजालले बताउनुभयो । नगरपालिकाले नगरभित्रका सबै स्वास्थ्यकर्मी, वडाका जनप्रतिनिधि र सामुदायिक अस्पताललाई पनि स्वास्थ्य सामग्री वितरण गर्ने जनाएको छ ।

जिल्लाका दश वटै स्थानीय तहले यसअघि नै आ–आफ्नो क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरेको छ । जिल्लाका सबै स्थानीय तहले राजधानी काठमाडौँबाट ल्याएर वितरण गरेको हो ।

तपाईको प्रतिक्रिया