खोटाङ, १० वैशाख । हलेसी तुवाचुङ नगरपालिकाले ‘लकडाउन’को मारमा परेका विपन्न परिवारलाई वितरण गरिने राहत सामग्री तथा विपन्न परिवारको तस्वीर खिच्न प्रतिबन्ध लगाएको छ । मूलुकभर विपन्न परिवारलाई राहत वितरण गरिएको तस्वीर खिचाएर सामाजिक सञ्जालमा राख्ने होडबाजी नै चलेको समयमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले तस्वीर खिच्न प्रतिबन्ध लगाएको हो ।
लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई उनीहरुको वडामै लगेर राहत सामग्री वितरण गर्न स्वयम् वडाध्यक्षलाई जिम्मा दिइएको नगरप्रमुख इवन राईले बताउनुभयो । “दुई÷चार छाक पुग्ने चामल र दुई पोका तेल बाँड्दै गरेको तस्वीर चिखाएर जनतालाई हैरान बनाउनु हुँदैैन”, उहाँले भन्नुभयो, “नगरपालिकाले दिने राहतले उनीहरुको गर्जो टर्नेपनि हैन । थोरै सामग्री दिएर धेरै प्रचार गर्दा आफ्नो लोकप्रियता बढ्छ भन्ने सोच्नु गलत भएकाले तस्वीर खिच्न रोक लगाइएको हो ।”
नगरपालिकाले उपलब्ध गराउने राहत सामग्री वितरणका क्रममा नगरप्रमुख राई र उपप्रमुख विमला राई कुनै पनि वडामा पुग्नुभएको छैन । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न आव्हान गरिएको ‘लकडाउन’का कारण आयमुलक काम गर्न नपाएपछि समस्यामा परेका ११ वटै वडाका विपन्न परिवारलाई नगरपालिकाले वैशाख–७ गतेदेखि खाद्यान्न वितरण शुरु गरेको हो ।
नगरस्तरीय समन्वय समितिको बैठकको निर्णय अनुसार विनियोजन गरिएको रु १२ लाख ५० हजार बजेटबाट खाद्यान्न खरिद गरेर बिहान÷बेलुकाको छाक टार्न कठिन भएका परिवारलाई वितरण शुरु गरिएको जनाइएको छ । नगरपालिकाले प्रतिवडा रु ७५ हजारदेखि डेढ लाखसम्म निकासा दिएपछि स्वयम् वडा कार्यालयले श्रमिक तथा गरीब परिवार छानेर चामल, दाल, नुन, तेल, चिनी, साबुन जुटाएर वितरण शुरु गरेको हो ।
सुख्खाग्रस्त क्षेत्रमा पर्ने उक्त नगरपालिकामा राहत वितरण कार्यक्रम शुरु भएपछि स्थानीय बासिन्दालाई थोरै भएपनि सहज भएको पाइएको छ । गत वर्ष भएको लामो समयको खडेरीले आद्यान्न अभाव भएपछि सो नगरपालिकाका अधिकांश युवा पुस्ता दैनिक ज्यालादारी काम गर्न भारत गएका छन् ।
लामो समय भएको खडेरीका कारण सो नगरपालिकाका कतिपय किसानले मकै छर्नसमेत पाएका थिएनन् । मकै छर्ने सिजन गएपछि वर्षा हुँदा कतिपय किसानले असार लागेपछि मात्रै मकै छरेपनि उत्पादन नभएको किसानले बताएका छन् ।
जिल्लाको प्रमुख बालीकारुपमा लगाइने मकै छर्ने समयमा नगरपालिकाले मकैको बीउ खरिद गरेर खडेरी पीडित किसानलाई निःशुल्क वितरण शुरु गरेको छ । नगरपालिकाको हावापानी सुहाउँदो ठाउँबाट खरिद गरेर ल्याइएको मकैको बीउ ११ वटै वडाका किसानलाई निःशुल्क वितरण शुरु गरिएको जनाइएको छ ।
खडेरीका कारण जिल्लाकै सबैभन्दा बढी प्रभावित भएको सो नगरपालिकाका स्थानीय बासिन्दाका लागि यसअघि राहत अनुदान अन्तरगत रु एक करोड ४० लाख बजेट विनियोजन गरिएको थियो । नगरपरिषद्बाट विनियोजित रकमबाट चामल तथा दाल खरिद गरेर वितरण गर्ने काम भइरहेको जनाइएको छ ।
गत वर्षको खडेरीले जिल्लाका दश वटै स्थानीय तहमा असर गरेको थियो । खडेरीका कारण गत वर्ष अधिकांश स्थानीय तहमा ५० प्रतिशत मात्र खाद्यान्न उत्पादन भएको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राईले बताउनुभयो ।