खोटाङ, ११ वैशाख । ‘लकडाउन’का कारण यातायात सञ्चालन नभएपछि कष्टका साथ पैदल यात्रा गर्दै घर फर्किरहेका सर्वसाधारणलाई खोटाङका चार युवा व्यवसायीले खाजा र पानी उपलब्ध गराएका छन् । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न लागू गरिएको ‘लकडाउन’को समयमा शहरबाट भोक र तिर्खा सहँदै पैदल यात्रा गरेर घर फर्किरहेका सर्वसाधारणलाई युवा व्यवसायीहरु भीषण राई, विराज आचार्य, प्रकाश थापा र किरण राईले ५० काटुन चाउचाउ र ६० काटुन मिनिरल वाटर उपलब्ध गराएको हुन् ।
देशभर ‘लकडाउन’ आव्हान गरिएपनि काठमाडौँबाट कष्टकासाथ पैदल यात्रा गरेर जिल्ला भित्रिरहेका सर्वसाधारणलाई चार युवाले बुधबार साँझ जयरामघाट पुगेर खाजा तथा पानी उपलब्ध गराएको जनाइएको छ । दिक्तेलबाट राहत सामग्रीसहित जयरामघाट पुगेका युवाको समूहले सर्वसाधारणलाई वितरण गर्नेगरी हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई र वडा नम्बर– १ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईलाई खाजा र पानीको काटुन हस्तान्तरण गरेका हुन् ।
‘लकडाउन’को प्रवाह नगरी जिल्ला भित्रिनेक्रममा जयराममा आएर अलपत्र परेका सर्वसाधारणले खाना र पानीसमेत नपाउँदा भोक र तिर्खा सहँदै यात्रा गर्नुपरेको गुनासो आएपछि राहत स्वरुप खाजा र पानी उपलब्ध गराइएको नेपाल तरुण दल खोटाङका अध्यक्षसमेत रहनुभएका युवा व्यवसायी भीषणले बताउनुभयो । ‘लकडाउन’ तोडेर घर फर्किरहेका सर्वसाधारणका लागि भिषण र बिराजले २५÷२५ काटुन चाउचाउ, प्रकाशले ५० काटुन पानी र किरणले १० काटुन पानी उलपब्ध गराएका हुन् ।
युवा व्यवसायी रुजन खत्रीले दिक्तेलबाट जयरामसम्म राहतका सामग्री पु¥याउन सवारी साधन उपलब्ध गराएको जनाइएको छ । जिल्लाको नाकामा आइपुगेका सर्वसाधारण खाजा र पानी नपाएर कष्ट भोग्न बाध्य भएको जानकारी आएपछि केही घण्टाभित्रै समन्वय गरेर राहत जुटाइएको राहत सङ्कलन अभियानका संयोजनकर्ता एवम् सितोरियो कराँते खेलाडी सञ्जयकुमार राईले बताउनुभयो ।
मूलुकभर ‘लकडाउन’ गरे पनि हाल काठमाडौँबाट सयौँको सङ्ख्यामा सर्वसाधारण जिल्ला भित्रिनेक्रम जारी रहेको छ । बुधबार मात्र हलेसी तुवाचुङ नगरपालिकाको ७१ जना र अन्य पालिकाको ५० जना स्थानीय जिल्ला प्रवेश गरेको जयरामघाटमा खटिएका सुरक्षाकर्मीको तथ्याङमा उल्लेख छ ।
कतिपय जिल्लाबासी रातको २÷३ बजे पनि जिल्ला प्रवेश गर्ने गरेका छन् । पैदल यात्रा गर्दै आएका सर्वसाधारण अहिले जयराघघाटमा ६० र फोक्सिङटारमा २७ जना अलपत्र अवस्थामा रहेका छन् ।
छिमेकी जिल्ला उदयपुरमा कोरोना भाइरसको सङ्क्रमित फेला परेपछि हप्तादिनको लागि खोटाङ प्रपेश गर्ने सम्पूर्ण नाका सिल गरिएको थियो । नाका सिल गरेपछि पैदल यात्रा गरेर आउने सर्वसाधारण अलपत्र परेका हुन् ।
नाकामा अलपत्र परेका सर्वसाधारणलाई सम्बन्धित स्थानीय तहसँग समन्वय गर्न भनिएको प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला सुरक्षा समितिका संयोजक शालिग्राम शर्मा पौडेलले बताउनुभयो । “जिल्लाका कतिपय स्थानीय तहले अलपत्र परेका व्यक्तिलाई उद्दार गर्ने भनेर सूचना प्रकाशन गरेको पाइएको छ”, उहाँले भन्नुभयो, “जिल्लाका विभिन्न नाकामा आएर रोकिएका व्यक्तिलाई सम्बन्धित स्थानीय तहसँग सम्पर्क गर्न भनिएको छ ।”
लकडाउनका कारण अलपत्र परेका सर्वसाधारणलाई सम्बन्धित ठाउँमै गाडी पठाएर उद्दार गर्ने तयारी थालिएको रावाबेँसी गाउँपालिकाका प्रमुख लीलानाथ निरौलाले बताउनुभयो । उद्दारका लागि सम्पर्क गर्न स्रोत व्यक्तिसमेत तोकिएको जनाइएको छ ।