लकडाउनमा फसेकाको उद्दार कार्य शुरु, पैदल यात्रा गरेर फर्किने विभिन्न ठाउँमा अलपत्र

Halesi Khabar
0 Shares

खोटाङ, ११ वैशाख । हलेसी तुवाचुङ नगरपालिकाले लकडाउनका कारण राजधानी काठमाडौँमा रोकिएका नगरबासीलाई उद्दार कार्य शुरु गरेको छ । अध्ययन तथा विभिन्न कामको सिलसिलामा राजधानी काठमाडौँको विभिन्न ठाउँमा बस्दै आएका नगरबासी लकडाउन लागू भएसँगै घर फर्कन नपाएर अलपत्र परेपछि नगरपालिकाले रिजर्भ गाडी पठाएर उद्दार कार्य शुरु गरेको हो ।

काठमाडौँको पेप्सीकोलामा रहेका वडा नम्बर–१, २, ३, ४ र ५ नगरबासी गएराति नगरपालिकाको तर्फबाट १२ वटा गाडी पठाएर उद्दार गरिएको नगरप्रमुख इवन राईले बताउनुभयो । “काठमाडौँको विभिन्न ठाउँमा बस्दै आएका उनीहरुलाई उद्दार गरेर ल्याउनेक्रम जारी छ”, उहाँले भन्नुभयो, “उनीहरु सबैको स्वास्थ्य परीक्षण गरेर स्वस्थ रहेका व्यक्तिलाई होम क्वारेन्टाइन तथा सामान्य बिरामी अवस्थाका व्यक्तिलाई सम्बन्धित वडामा निर्माण गरिएका क्वारेन्टाइनमा १४ दिनसम्म राखिनेछ ।”

गएराति काठमाडौँको विभिन्न ठाउँबाट नगरबासीलाई उद्दार ५८६ जना नगरबासी ल्याइएको नगरप्रमुख राईले बताउनुभयो । “कुन गाडीमा कुन वडाका स्थानीय बासिन्दा आएका छन् भन्नेबारेमा अहिले पहिचान गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “गएराति पठाइएको गाडीमा नअटेका वडा नम्बर–६ देखि ११ सम्मका नगरबासीलाई पुनः भोलि (शुक्रबार) गाडी पठाएर उद्दार गरिनेछ ।”

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका अन्य स्थानीय तहले पनि सूचना जारी गर्दै अलपत्र परेका सर्वसाधारणलाई उद्दार गर्ने बताएको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै अलपत्र व्यक्तिलाई सम्पर्कमा आउन भनेको छ ।

स्थानीय तहले विभिन्न शहरमा अलपत्र बनेर बसेका सर्वसाधारणलाई उद्दार गर्न थालेपछि जिल्लामै बसोबास गर्नै आएका स्थानीय बासिन्दा त्रसित बनेका छन् । छिमेकी जिल्ला उदयपुरमा कोरोना सङ्क्रमित भेटिएपछि गत आइतबार बसेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका हप्तादिनको लागि सिल गर्ने निर्णय गरेको थियो ।

दश स्थानीय तह रहेको जिल्लामा बाहिरी जिल्लामा बसोबास गरेर घर फर्किनेको सङ्ख्या बढेपछि चुनौति बढेको समितिका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताउनुभयो । “बाहिरबाट आएका व्यक्तिलाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा राख्न भनिएको छ”, उहाँले भन्नुभयो ।

यसैबीच, पैदल यात्रा गर्दै घर फर्किएका सर्वसाधारण जिल्लाका विभिन्न नाकामा आएर अलपत्र परेका छन् । जिल्लाको प्रमुख नाका जयरामघाटमा ६० र फोक्सिङटारमा २७ जना अलपत्र अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो ।

लकडाउन’का कारण यातायात सञ्चालन नभएपछि कष्टका साथ पैदल यात्रा गर्दै घर फर्किरहेका सर्वसाधारणलाई खोटाङका चार युवा व्यवसायीले खाजा र पानी उपलब्ध गराएका छन् । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न लागू गरिएको ‘लकडाउन’को समयमा शहरबाट भोक र तिर्खा सहँदै पैदल यात्रा गरेर घर फर्किरहेका सर्वसाधारणलाई युवा व्यवसायीहरु भीषण राई, विराज आचार्य, प्रकाश थापा र किरण राईले ५० काटुन चाउचाउ र ६० काटुन मिनिरल वाटर उपलब्ध गराएको हुन् ।

देशभर ‘लकडाउन’ आव्हान गरिएपनि काठमाडौँबाट कष्टकासाथ पैदल यात्रा गरेर जिल्ला भित्रिरहेका सर्वसाधारणलाई चार युवाले बुधबार साँझ जयरामघाट पुगेर खाजा तथा पानी उपलब्ध गराएको जनाइएको छ । दिक्तेलबाट राहत सामग्रीसहित जयरामघाट पुगेका युवाको समूहले सर्वसाधारणलाई वितरण गर्नेगरी हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई र वडा नम्बर–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईलाई खाजा र पानीको काटुन हस्तान्तरण गरेका हुन् ।

अलपत्र अवस्थामा रहेका व्यक्तिलाई सम्बन्धित स्थानीय तहसँग समन्व गर्न भनिएको प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला सुरक्षा समितिका संयोजक शालिग्राम शर्मा पौडेलले बताउनुभयो । जिल्लाका विभिन्न नाकामा अलपत्र परेका व्यक्तिलाईसमेत उद्दार गर्ने पहल भइरहेको स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् ।

तपाईको प्रतिक्रिया