खोटाङ, १२ वैशाख । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट बेलायत (युके)मा खोटाङकी एक युवतीको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देल पुर्खौली घर भइ हाल धरान आदर्श विकास टोलमा बस्दै आएकी ३२ वर्षीय बिमा नाछिरिङ राईको बेलायतमा मृत्यु भएको हो ।
मिर्गौला सम्बन्धी समस्याबाट पीडित बिमालाई कोरोनाको सङ्क्रमण भएको पुष्टि भएपछि बेलायतस्थित जर्ज इलियट अस्पतालमा भर्ना गरेर उपचार गर्नेक्रममा मृत्यु भएको समाजसेवी एवम् ब्रिटिस गोर्खा भेट्रान एसोसिएसनका महासचिव भीम सारुले बताउनुभयो । अहिलेसम्म अविवाहित रहेकी बिमाको मङ्गलबार मृत्यु भएको हो ।
उनी पूर्व गोर्खा सैनिक बाबुसँगै बस्न गत वर्ष बेलायत पुगेकी थिइन् । बुबा, आमा र बहिनीका साथमा बेलायतस्थित नटिङ्घम बस्दै आएकी बिमाको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्युको विषयमा किरात रदु नाछिरिङ साखाम केन्द्र, केन्द्रीय समिति नेपालले आफ्नो फेसबुक पेजमार्फत दुःख व्यक्त गरेको छ ।
यसैबीच, बेलायतमा बस्दै आएका १२ जना खोटाङ्गेलाई कोरोना सङ्क्रमण भएको खोटाङ सेवा समाज युकेले जनाएको छ । समाजले अप्रिल २१ मा जारी गरेको अपिलमा फल्कस्टोनमा एक, बेजिङस्टकमा छ, आशफोर्डमा तीन तथा क्याट्रिक र ओकिङमा एक÷एक जना खोटाङ्गे सङ्क्रमित भएको उल्लेख छ ।
उनीहरुको अहिले बेलायतस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । बेलायतमा उपचाररत सङ्क्रमित सबैको अवस्था अहिलेसम्म सामान्य रहेको खोटाङ सेवा समाज युकेले जनाएको छ ।
यता, दश स्थानीय तह रहेको खोटाङ जिल्लामा अहिलेसम्म कोरोना सङ्क्रमित भेटिएका छैनन् । जिमेकी जिल्ला उदयपुरमा एकै दिन १२ जना सङ्क्रमित भेटिएलगत्तै खोटाङ प्रवेश गर्ने सम्पूर्ण नाका हप्ता दिनको लागि बन्द गरिएको छ ।
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका हप्तादिनको लागि बन्द गर्ने घोषणा गरेपनि बाहिरी जिल्लाबाट प्रवेश गर्नेको सङ्ख्या रोकिएको छैन । लकडाउनका कारण यातायात सञ्चालन नभएपछि रोकिएर बसेका स्थानीय बासिन्दा समस्यामा परेको गुनासो आउन थालेसँगै स्थानीय तहले उद्दार शुरु गरेको छ ।