खोटाङ, १२ वैशाख । हलेसी तुवाचुङ नगरपालिकाले लकडाउनका कारण काठमाडौँमा रोकिएका एक हजार २६७ जनालाई उद्दार उद्दार गरेको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्न लागू गरिएको ‘लकडाउन’का कारण समस्यामा परेका नगरबासीलाई होम क्वारेन्टानमा बस्ने सर्तमा बिहीबार १२ वटा बसमार्फत ५८६ सर्वसाधारण आज (शुक्रबार) १३ वटा बसमार्फत ६८१ जनालाई घर ल्याएको हो ।
बसिरहेको ठाउँमा दैनिक आयमुलक काम गर्न नपाएको तथा घर आउन पनि नपाएर समस्यामा परेको गुनासो आएपछि होम क्वारेन्टाइनमा राख्ने गरी घरसम्म ल्याउने व्यवस्था मिलाइएको नगरप्रमुख इवन राईले बताउनुभयो । “स्टक खाद्यान्न सकिँदा खान नपाएको र घर आउन नपाएको भन्दै घरसम्म पु¥याइ दिन आग्रह गरेपछि ‘लकडाउन’लाई प्रवाह नगरी उद्दार गरेर ल्याइएको छ”, उहाँले भन्नुभयो, “बाहिरबाट ल्याइएका सबैको स्वास्थ्य परीक्षण गरेर होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।”
उद्दार गरिएका नगरबासीलाई १४ दिनसम्म होम क्वारेन्टाइन वा क्वारेन्टाइनमा बस्ने, सामाजिक दूरी कायम गरेर परिवारका सदस्यसँग सम्पर्क स्थापित गर्ने, मादक पदार्थ सेवन नगर्ने, स्वास्थ्यमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीलाई सम्पर्क गर्ने लगायतका १० बुँदे कबुलियतनामा गराएर घर पठाइएको जनाइएको छ । राजधानी काठमाडौँको विभिन्न ठाउँबाट नगरबासीलाई घर पठाउन युवा नेता रमेश पौडेल, जितेन्द्र ठकुरी, राजविक्रम चाम्लिङ, दयाराम राई लगायतले समन्वय गर्नुभएको थियो ।
उदयपुरमा ठूलो संख्यामा कोरोना भाइरसबाट संक्रमित नागरिक फेला परेपछि कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको बैठकले वैशाख ८ गतेदेखि खोटाङ प्रवेश गर्ने र बाहिरिने नाका हप्तादिनका लागि बन्द गर्ने निर्णय गरेपनि सर्वसाधारण भित्रिन छाडेका छैनन् । जयरामघाट नाकाबाट रातको २÷३ बजेसम्म सर्वसाधारण भित्रिने गरेको बताइएको छ ।
खोटाङ प्रवेश गर्ने प्रमुख नाका जयरामघाटबाट बिहीबार मात्रै साकेला गाउँपालिकाका ३८ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २९ र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका आठ जना प्रवेश गरेका छन् । उनीहरु सबैको स्वास्थ्य परीक्षण गरिएको जयरामघाटमा स्थापना गरिएको हेल्थ डेस्कले जनाएको छ ।
जिल्लाका रावाबेँसी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाले पनि विभिन्न ठाउँमा रोकिएका स्थानीय बासिन्दाको उद्दार कार्य शुरु गरेको छ । रावाबेँसी र ऐसेलुखर्क गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै घर फर्कन चाहने व्यक्तिले गाउँपालिकाले तोकेको व्यक्तिसँग सम्पर्कमा आउन भनेको छ ।
विभिन्न शहरबाट जिल्ला भित्रिने व्यक्तिसँगै कोरोना भाइरसको सङ्क्रमण पनि भित्रिने खतरा बढेको भन्दै गाउँमा भने त्रास फैलिएको छ । विशेषगरी उदयपुरतिरबाट भित्रिने स्थानीयबाट सङ्क्रमण फैलिने त्रास बढेको स्थानीय बासिन्दाले बताएका छन् ।
दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहका जनप्रतिनिधिले भने हलेसी तुवाचुङ नगरपालिकाको उक्त कार्यको बिरोध जनाएको छ । बाहिरबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा राख्न सम्बन्धित स्थानीय तहलाई भनिएको समितिका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताउनुभयो ।
साकेला गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सबैले सजकता अपनाउनुपर्ने बताउनुभएको छ । “जसले सहजता खोज्दै छ, उसैले जोखिम निम्त्याउँदै छ । सबै जनाले सतकर्ता अपनाऔँ” उहाँले आफ्नो व्यक्तिगत फेसबुक वालमा लेख्नुभएको स्टाटसमा भनिएको छ ।
जिल्लाका दश वटै स्थानीय तहमागरी ३०४ शैयाको क्वारेन्टाइन र १३ शैयाको आइसोलेसन वार्ड निर्माण गरिएको छ । जिल्लाका हरेक स्थानीय तहमा क्वारेन्टाइन निर्माण गरिएपनि निर्माण गरिएका क्वारेन्टाइन बस्नेको सङ्ख्या ८७ जना पुगेको छ ।
क्वारेन्टाइन बस्ने व्यक्तिलाई सम्बन्धित स्थानीय तहले खाना, खाजा र स्वास्थ्य उपचारको व्यवस्था गरेका छन् । जिल्लामा बाहिरबाट आउनेको सङ्ख्या अधिक भएपनि स्थानीय तहका जनप्रतिनिधिले होम क्वारेन्टाइन भन्दै घरैमा बस्न दिएपछि निर्माण गरिएको क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून देखिएको हो ।