नेपालमा कोरोना सङ्क्रमितको संख्या ५१ पुग्यो, वीरगन्जमा भेटियो थप दुई जनामा सङ्क्रमित

Halesi Khabar
0 Shares

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५१ पुगेको छ । आइतबार पर्सामा दुई जना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या ५१ पुगेको हो ।

पर्साको वीरगन्ज निवासी दुई जना ५० वर्षीय पुरुषहरुमा सक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताउनुभयो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

सङ्क्रमण पुष्टि भएका दुवै जना वीरगन्ज महानगरपालिका छपकैयाका बासिन्दा हुन् । छपकैयाको मस्जिदमा बसेका तीनजना भारतीय सङ्क्रमितको सम्पर्कमा आएकाहरुको स्वाब लिइ पीसीआर परीक्षण गर्न काठमाडौं पठाइएकोमा दुईजनाकै रिपार्ट पोजिटिभ देखिएको हो ।

दुवैजनालाई नारायणी अस्पतालको आइसोलेसनमा ल्याइएको छ । यीमध्ये एकजना महानगरका सफाइ कर्मचारी हुन् । अर्का व्यक्तिलाई सिद्धार्थ माविको क्वारेन्टाइनबाट आइसोलेसनमा ल्याइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो ।

अस्पतालबाट आजै चारजना सङ्क्रमितलाई डिस्चार्ज गर्ने तयारी भइरहेको छ, जसमा तीनजना जमाती छन् । सङ्क्रमितमध्ये हालसम्म १२ जना निको भएर घर फर्किएको पनि मन्त्रालयका सह(प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया