विराटनगर । पेट दुखेर अस्पताल आएकी उदयपुरकी एक बिरामीलाई विराटनगरस्थित बिराट नर्सिङ होमले उपचार नगरी गेटबाटै फर्काइदिएको छ । पेटको समस्या भएर ल्याइएकी उदयपुर बेलका ४ रामपुरकी ५२ बर्षीय रत्नमाया तिम्सिनालाई आकस्मिक कक्षमा कार्यरत चिकित्सले भर्ना नलिई गेटबाटै फर्काइदिएका हुन् ।
बिराट नर्सिङ होमले बिरामी लिन नमानेपछि उनलाई कोशी अस्पताल भर्ना गरिएको छ । सुरुमा नर्सिङ होम लगिएकोमा कोशी अस्पतालबाट पहिला कोरोनाको भएरनभएको रिर्पोट लिएर आएपछि मात्रै भर्ना गरिने चिकित्सकले बताएको बिरामीका छोरा उमेशले जानाकरी दिनुभयो । “उदयपुरबाट बिरामी ल्याएको भनेपछि पहिला गेटमा करिब १ घण्टा रोकियो”, उहाँले भन्नुभयो, “त्यसपछि आकस्मिक कक्षका चिकित्सकले कोरोना टेष्टको पहिला रिर्पोट ल्याउनू भन्दै गेटबाटै फर्काइदिए ।”
छोरा उमेशका अनुसार आमालाई आइतबार बिहानै बिराटनगर ल्याइएको थियो । बेलका नगरपालिकाको एम्बुलेन्समा राखेर बिराट नसिङ्ग होममा र्पुयाएलगतै गेटका सुरक्षाकर्मीले उदयपुरबाट ल्याएको भन्ने बितिकै अस्पतालमा प्रबेश गर्नबाट बिरामीलाई रोकेका थिए ।
“सामान्य पेट घोच्ने र पोल्ने समस्याबाट पीडित भएपछि आमालाई त्यहीँको क्लिनिकमा औषधी उपचार गरेका थियौ”, उमेशले भन्नुभयो, “आमालाई ठीक नभएपछि नर्सिङ्ग होम पु¥याइयो ।”
नर्सिङ होमले बिरामी भर्ना लिन नमानेपछि कोशी अस्पताल लैजान कुनै सवारी साधनले मानेन्, प्रहरीको सहायतमा अटो रिजर्भ गरेर आमालाई कोशीमा भर्ना गराएको उमेशले बताउनुभयो । “हामी गरिब मान्छे, ठूला मान्छे नहुँदा उपचार पाउन बञ्चित हुनुपर्दोरहेछ”, उमेशले गुनासो गर्दै भन्नुभयो, “अस्पतालमा उपचार पाउन पनि सोर्सफोर्स लगाउनुपर्ने भयो । हाम्रो पहुँच पुगेन ।”
बिराट नर्सिङ होमले आमालाई भर्ना गर्न नमानेपछि उनका आफन्तले प्रदेश सांसद हिमाल कार्कीलाई फोन गरी घटनाको जानकारी गराएका थिए । सांसद कार्कीले तत्काल प्रदेशका सामाजिक बिकास मन्त्री जीवन घिमिरेलाई घटनाबारे जानकारी गराएका थिए ।
बिराट नर्सिङ होमका सञ्चालक डा ज्ञानेन्द्रमानसिंह कार्कीले आफ्नो अस्पतालमा कुनै पनि बिरामीलाई कुनै पनि बाहाना नफर्काइएको दाबी गरे । उनले कोरोनाको सङ्क्रमण नै भएका बिरामीलाई पनि आफूहरु अस्पतालमा भर्ना गर्न तयार रहेको जिकिर गरे ।