काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण नियन्त्रण गर्न सरकारले जारी लकडाउन दश दिन थप्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले वैशाख १५ गतेसम्मकाका लागि लागू गरिएको लकडाउन पुनः दश दिन थप गरेर वैशाख २५ गतेसम्म जारी राख्ने निर्णय गरेको हो ।
नेपालमा कोरोना सङ्क्रमितको संख्या ५२ पुगेको र नयाँ सङ्क्रमण देखिइरहेकाले जोखिममुक्त नभएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन थप्ने निर्णय गरेको जनाइएको छ । कोभिड १९ (कोरोना भाइरस) सङ्क्रमणको जोखिम देखिएपछि सरकारले चैत ११ गतेबाट लकडाउन सुरु गरेको थियो ।
पछिल्लोपटक सरकारले वैशाख ३ गते १२ दिनको लकडाउन थपेको थियो । सरकारले यसअघि नै जेठ २ गतेसम्मलाई राष्ट्रिय तथा आन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लगाइसकेको छ ।
कोभिड नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समिति अन्तर्गतको मुख्यसचिव नेतृत्वको कार्यदलले सरकारलाई एक हप्ता लकडाउन थप गर्न सिफारिस गरेको थियो । कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या दुई लाख तीन हजार ४३२ पुगेको छ भने, सङ्क्रमित २९ लाख १२ हजार ४२१ रहेका छन् ।