खोटाङ, १४ वैशाख । हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौँमा बसिरहेका नगरबासीलाई गाडी पठाएर घर फर्काएको प्रति कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको बैठकमा आलोचना भएको छ । गत वैशाख–७ गतेको बैठकमा जिल्लाका नाकामा आवत–जावत गर्न बन्द गर्ने÷गराउने निर्णय गरिएको भए पनि उक्त नगरपालिकाले बिहिबार र शुक्रबार २५ वटा बस रिजर्भ गरेर एक हजार ३६९ नागरिकलाई भित्र्याएको भन्दै बैठकमा आलोचना गरिएको हो ।
शहरमा बसिरहेका सर्वसाधारणबाट गाउँमा कोरोना भाइरसको सङ्क्रमण पनि भित्रिने भन्दै समितिका सदस्यहरुले आपत्ती जनाएका छन् । लकडाउनको अवधिमा पनि कतिपय केन्द्रीयस्तरका नेता तथा स्थानीय तहले शहरमा अलपत्र नागरिकलाई गाउँ लगिरहेको अवस्थामा उक्त नगरपालिकाले पनि नगरबासीलाई घर ल्याएको थियो ।
जिल्लाका नाकामा आवत–जावतमा रोक लगाउने निर्णयमा हस्ताक्षर गरेर फर्किएपछि बैठकको निर्णयलाई कुल्चने काम भएको भन्दै नगरप्रमुखको आलोचना भएको नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताउनुभयो । समितिको आइतबार बसेको बैठकको अधिकांश समय हलेसी तुवाचुङ नगरपालिकाले सर्वसाधारणलाई घर भित्र्याएको विषयमा खर्च भएको थियो ।
यद्यपी, जिल्लका दश वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि सदस्य रहेको उक्त समितिको बैठकमा हलेसी तुवाचुङ नगरपालिकाका प्रतिनिधिको भने उपस्थिति थिएन । बैठकले स्थानीय एवम् शहरबाट भित्रिएका सर्वसाधारणको यथाशिघ्र स्वास्थ्य परीक्षण गर्दै उनीहरुको स्वास्थ्य सुरक्षाको ग्यारेन्टीमा ध्यान दिन उक्त नगरपालिकालाई अनुरोध गर्ने निर्णय गरिएको जनाइएको छ ।
काठमाडौँबाट जिल्लाका अन्य स्थानीय तहले पनि सर्वसाधारणलाई घर ल्याउने तयारी गरिरहेको पाइएकाले अत्यावश्यक काममा बाहेक घर ल्याउने कामलाई प्रोत्साहित नगर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरिएको संयोजक चाम्लिङले जानकारी दिनुभयो । “पछिल्लो समय शहरभन्दा गाउँ असुरक्षित बन्दै गएको छ”, उहाँले भन्नुभयो, “शहरमा रहेका व्यक्तिलाई सोही ठाउँमा आवश्यक राहतको व्यवस्था गरेर जहाँ रहेका छन्, त्यहीँ राख्न उचित हुने देखिएकाले छ ।”
हाल बसिरहेको ठाउँमा लकडाउनका कारण दैनिक आयमुलक काम गर्न नपाएको तथा घर आउन पनि नपाएको अवस्थामा समस्यामा परेको गुनासो आएकाले हलेसी तुवाचुङ नगरपालिकाले होम क्वारेन्टाइनमा राख्ने गरी नगरबासीलाई घर ल्याएको जनाएको छ । काठमडौँंबाट नगरबासीलाई घर पठाउन युवा नेता रमेश पौडेल, जितेन्द्र ठकुरी, राजविक्रम चाम्लिङ, दयाराम राई लगायतले समन्वय गर्नुभएको थियो ।
घर ल्याइएका व्यक्तिहरुलाई अनिवार्य १४ दिनसम्म होम क्वारेन्टाइन वा क्वारेन्टाइनमा बस्ने, सामाजिक दुरी कायम गरेर परिवारका सदस्यसँग सम्पर्क स्थापित गर्ने, मादक पदार्थ सेवन नगर्ने, स्वास्थ्यमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीलाई सम्पर्क गर्ने लगायतका दश बुँदे कबुलियतनामा गराएर घर ल्याइएको नगरप्रमुख इवन राईले बताउनुभयो । “सङ्क्रमण फैलनबाट रोक्न नगरपालिका सचेत भएर लागी परेको छ”, उहाँले भन्नुभयो, “आफूले गरेको कबुलियतनामा उलङ्घन गरेमा कारबाही गरिनेछ । शनिबार मात्रै दुई जनालाई पक्राउ गरेर कारबाही शुरु गरिएको ।”
हाल जिल्लाको रावाबेँसी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र साकेला गाउँपालिकाले पनि
आफ्नो नागरिकलाई काठ्माण्डौंबाट घर ल्याउने तयारी गरिरहेको छ । हलेसी तुवाचुङ नगरपालिकाले शहरमा बसिरहेका स्थानीयलाई आफैले गाउँमा ल्याए पनि जिल्लाकै अन्य स्थानीय तहका सर्वसाधारण समेत आफै घर भित्रिरहेको जयरामघाट नाकामा स्थापना गरिएको हेल्थडेस्कको तथ्याङ्कमा उल्लेख छ ।
बैठकमा खोटाङका विभिन्न ठाउँमा कोरोना भाइरसबाट वडा वा टोल सुरक्षित गर्ने नाममा सडकमा रुख ढाल्ने, बार लगाउने, खाल्डो खन्ने जस्ता अवरोध गरिएको पाइएकाले लकडाउन सफल हुनेगरी सडक अवरोध नगर्न अनुरोध गर्ने, खाद्य सङ्कट निम्तिन नदिन खाद्यान्न ढुवानी गर्ने, एक हजार थान आरडिटि किट तथा दक्ष स्वास्थ्य प्राविधिक उपलव्ध गराउन संघ र प्रदेश सकार समक्ष माग गर्ने, जिल्ला अस्पताललाई दश थान स्वास्थ्य सुरक्षा गाउन उपब्व्ध गराउने महाबीर पुन र समन्वय गर्ने प्रतिनिधिसभा सांसद हिरा गुरुङलाई धन्यबाद दिने लगायतका निर्णय भएको छ ।
शहरबाट घर प्रवेश गर्ने व्यक्तिसँगै सङ्क्रमण पनि भित्रिने खतरा बढेको भन्दै गाउँमा भने त्रास फैलिएको छ । शहरबाट गाउँ फर्किएकाहरु भेला भएर खोलामा माछा मार्ने, वनभोज खाने तथा डाँडा घुम्न जान थालेपछि त्रास फैलिएको हो ।