खोटाङ, १५ वैशाख । होम क्वारेन्टाइन बस्ने शर्तमा काठमाडौँबाट उद्दार गरेर घर ल्याइएका हलेसी तुवाचुङ नगरपालिकाका तीन जना पक्राउ परेका छन् । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने शर्तमा कबुलियतनामा गरेर घर ल्याइएकामा आफूले गरेको कबुलियतनामा उलङ्घन गर्ने तीन जनालाई इलाका प्रहरी कार्यालय हलेसीले पक्राउ गरेको हो ।
घरबाट निस्केर डुलिरहने, मादक पदार्थ सेवन गर्ने र होहल्ल गर्दै हिँडेको अवस्थामा वडा–४ बडहरेका २० वर्षीय एक युवकलाई गएराति पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक दिनेशप्रसाद खरेलले बताउनुभयो । “पक्राउ परेका युवकलाई छुटाउन राजनीतिक दलकै कार्यकर्ताबाट दबाब आइरहेको छ”, उहाँले भन्नुभयो, “आफूले गरेको कबुलियतनामा उलङ्घन गर्ने उनलाई सम्बन्धित वडाध्यक्षको रोहबरमा वडा कार्यालयले निर्माण गरेको क्वारेन्टाइनमा राखिनेछ ।”
पक्राउ परेका युवकलाई अहिले ईलाका प्रहरी कार्यालय हलेसीको प्रहरी हिरासतमा राखेर कारबाही थालिएको जनाइएको छ । यसअघि गत शनिबार वडा नम्बर–८ धितुङका दुई युवतीले पनि होम क्वारेन्टाइन उलङ्घन गरेकामा पक्राउ परेका थिए ।
पक्राउ परेका १७ वर्षीया र २१ वर्षीया दुई युवतीलाई वडाध्यक्षको रोहबरमा वडा कार्यालयले निर्माण गरेको क्वारेन्टाइनमा १६ दिनका लागि राखिएको छ । लकडाउनका कारण काठमाडौँबाट घर फर्कन नपाएकालाई नगरपालिकाले बिहिबार र शुक्रबार २५ वटा बस रिजर्भ गरेर एक हजार २६७ जनालाई घर फर्काएको थियो ।
नगरबासीलाई १४ दिनसम्म होम क्वारेन्टाइन बस्ने, सामाजिक दुरी कायम गरेर परिवारका सदस्यसँग सम्पर्क स्थापित गर्ने, मादक पदार्थ सेवन नगर्ने, स्वास्थ्यमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीलाई सम्पर्क गर्ने लगायतका दश बुँदे कबुलियतनामा गराएर घर ल्याइएको नगरप्रमुख इवन राईले बताउनुभयो । “सङ्क्रमण फैलिन नदिनका लागि नगरपालिका सचेत भएर लागी परेको छ”, उहाँले भन्नुभयो, “आफूले गरेको कबुलियतनामा उल्लङ्घन गर्ने जोकोहीलाई कारबाही हुन्छ ।”
यसैबीच, हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौँमा बसिरहेका नगरबासीलाई गाडी पठाएर घर फर्काएको विषयमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिले आलोचना गरेको छ । जिल्लाका सम्पूर्ण नाकामा बन्द गर्ने÷गराउने निर्णय गरिएको समयमा नगरपालिकाले बस रिजर्भ गरेर नगरबासीलाई भित्र्याएको भन्दै आइतबार बसेको समितिको बैठकमा आलोचना भएको हो ।
यद्यपी, जिल्लाका दश वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि सदस्य रहेको उक्त समितिको बैठकमा हलेसी तुवाचुङ नगरपालिकाका प्रतिनिधिको भने उपस्थिति थिएन । शहरबाट गाउँ भित्रिनेको सङ्ख्या वृद्धि भएसँगै सङ्क्रमणसमेत फैलन सक्ने भएकाले नगरपालिकाका स्थायी बासिन्दा तथा शहरबाट भित्रिएका सर्वसाधारणको यथाशिघ्र स्वास्थ्य परीक्षण गर्दै उनीहरुको स्वास्थ्य सुरक्षाको ग्यारेन्टीमा ध्यान दिन बैठकमार्फ नगरपालिकालाई आग्रह गरिएको समितिका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले जानकारी दिनुभयो ।
हाल जिल्लाको रावाबेँसी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र साकेला गाउँपालिकाले पनि आफ्नो नागरिकलाई काठमाडौँबाट घर ल्याउने तयारी गरिरहेको छ । हलेसी तुवाचुङ नगरपालिकाले शहरमा बसिरहेका स्थानीयलाई आफैले गाउँमा ल्याए पनि जिल्लाकै अन्य स्थानीय तहका सर्वसाधारण समेत आफै घर भित्रिरहेको जयरामघाट नाकामा स्थापना गरिएको हेल्थडेस्कको तथ्याङ्कमा उल्लेख छ ।
शहरबाट घर प्रवेश गर्ने व्यक्तिसँगै सङ्क्रमण पनि भित्रिने खतरा बढेको भन्दै गाउँमा भने त्रास फैलिएको छ । शहरबाट गाउँ फर्किएकाहरु भेला भएर खोलामा माछा मार्ने, वनभोज खाने तथा डाँडा घुम्न जान थालेपछि त्रास फैलिएको हो ।