शहरमा रोकिएका अशक्त, बिरामी, श्रमिक र विद्यार्थीलाई घर ल्याइने

Halesi Khabar
0 Shares

खोटाङ, १६ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लकडाउनका कारण राजधानी काठमाडौँमा रोकिएका नगरबासीलाई घर ल्याउने भएको छ । कोरोना भाइरसको सम्भावित सङ्क्रमण न्यूनिकरण गर्न लागू गरिएको लकडाउनको कारण यातायात सञ्चालन नभएपछि घर फर्कन नपाएर काठमाडौँमा अलपत्र परेका नागरिकलाई नगरपालिकाले गाडी पठाएर घर ल्याउने भएको हो ।

लकडाउनको मारमा परेका अशक्त, बिरामी, श्रमिक र विद्यार्थीलाई काठमाडौँस्थित मेरिडियन अस्पतालमा स्वास्थ्य परीक्षण गराएर घरसम्म ल्याउने तयारी गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । “लकडाउनका कारण घर फर्कन नपाएका नगरबासीलाई वैशाख–१८ र १९ गते बसमार्फत ल्याउने तयारी गरिएको छ”, उहाँले भन्नुभयो, “समस्यामा परेकालाई उद्दार गर्न १५ वटै वडाका वडाध्यक्षको संयोजकत्वमा समिति बनाएर पहिचान गर्ने काम भइरहेको छ ।”

नगरपालिकाले उद्दार गरेर ल्याइएका व्यक्तिलाई सम्बन्धित वडामा लगेर स्वास्थ्य परीक्षण गरेपछि होम क्वारेन्टाइन तथा सम्बन्धित वडा कार्यालयले निर्माण गरेका क्वारेन्टाइनमा राखिने जनाइएको छ । शहरबाट आएर क्वारेन्टाइन नबस्ने व्यक्तिलाई पक्राउ गरेर कानूनी कारबाही गरिने नगरपालिकाले जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा शहरमा अलपत्र परेका व्यक्तिलाई गाउँ फर्काउने होडबाजी नै चलेको छ । हलेसी तुवाचुङ नगरपालिकाले गत बिहिबार र शुक्रबार २५ वटा बस रिजर्भ गरेर एक हजार २६७ जना नगरबासीलाई घर फर्काएपछि जिल्लामा शहरबाट गाउँ फर्काउने होडबाजी चलेको हो ।

अहिले रावाबेँसी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र साकेला गाउँपालिकाले पनि आफ्नो नागरिकलाई काठमाडौँबाट घर ल्याउने तयारी गरिरहेको छ । हलेसी तुवाचुङ नगरपालिकाले शहरमा बसिरहेका स्थानीयलाई आफैले गाउँमा ल्याए पनि जिल्लाकै अन्य स्थानीय तहका सर्वसाधारण समेत आफै घर भित्रिरहेको जयरामघाट नाकामा स्थापना गरिएको हेल्थडेस्कको तथ्याङ्कमा उल्लेख छ ।

शहरबाट घर प्रवेश गर्ने व्यक्तिसँगै सङ्क्रमण पनि भित्रिने खतरा बढेको भन्दै गाउँमा भने त्रास फैलिएको छ । शहरबाट गाउँ फर्किएकाहरु भेला भएर खोलामा माछा मार्ने, वनभोज खाने तथा डाँडा घुम्न जान थालेपछि त्रास फैलिएको हो ।

उता, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले भने शहरमा रहेका व्यक्तिलाई गाउँ फर्काउँदा सङ्क्रमणको जोखिम हुने भन्दै बसिरहेकै ठाउँमा पुगेर राहत उपलब्ध गराइरहेको छ । उक्त गाउँपालिकाले अहिलेसम्म विभिन्न शहरमा रहेका २०२ जना नागरिकलाई बसिरहेकै ठाउँमा लगेर राहत उपलब्ध गराएको जनाइएको छ ।

जिल्लाका अन्य स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रका गरीब तथा दैनिक ज्यालादारी कामदारलाई राहत वितरण गरिरहेको छ । कोरोना भाइरसको सम्भावित सङ्क्रमण नियन्त्रण गर्न जिल्लाका दश वटै स्थानीय तहमागरी ३०४ शैयाको क्वारेन्टाइन र १३ शैयाको आइसोलेसन वार्ड निर्माण गरिएको छ ।

विदेशबाट घर फर्किएका खोटाङका ११५ जना स्थानीय बासिन्दाको ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) तथा १५ जना व्यक्तिमा गरिएको नमूना (स्वाब)को पिसिआर रिपोर्ट ‘नेगेटिभ’ आएको छ । मूलुकभर कोरोना भाइरसको सङ्क्रमण शुरु भएपछि जिल्लामा १४० जना व्यक्ति भित्रिएका भएपनि गत चैत यता घर फर्किएका ११५ जना व्यक्तिको आरडिटि तथा १५ जना व्यक्तिमा पिसिआर परीक्षण गरिएको हो ।

तपाईको प्रतिक्रिया