वीरगन्ज । बारा र पर्साका क्वारेन्टाइनमा रहेका थप तीनजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जीतपुर सिमरा उपमहानगरपालिकाका दुई जना र वीरगन्ज महानगरपालिका–२ छपकैयाका एकजनामा कोरोना पुष्टि भएको हो ।
काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालाबाट अस्पताल प्रशासनलाई यसबारेमा जानकारी आइसकेको छ । दुई जनालाई सिमराको क्वारेन्टाइन र एक जनालाई वीरगन्जको सिद्धार्थ माविको क्वारेन्टाइनबाट नारायणी अस्पतालको आइसोलेसन वार्डमा ल्याउने तैयारी भइरहेको छ ।
गत आइतबार वीरगन्ज–३ का एक र वडा १६ इनर्वाका एक स्थानीयमा कोरोना पोजेटिभ पुष्टि भएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा जीतपुरका दुईजना र वीरगन्जका एक जनालाई क्वारेन्टाइनमा राखिएको थियो । स्वाब संकलन गरि परीक्षणका लागि टेकुको प्रयोगशाला पठाइएको थियो ।
नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार गत आइतबार वीरगन्जका स्थानीय दुई जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा आएका ९४ जनाको स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको थियो । वीरगन्ज इनार्वाका ५५ वर्षीय संक्रिमत गत मार्चमा भारतको दिल्लीमा भएको तबलीगी जमातको धार्मिक भेलामा सहभागी भएका थिए ।
सम्बद्ध स्रोतका अनुसार उनीसँग जीतपुरका २ जना संक्रमित पनि उक्त सभामा सहभागी थिए । उनीहरुको समूह मार्च ६ मा दिल्ली गएर मार्च ११ मा वीरगन्ज फर्किएको थियो । वडा ३ का संक्रमित व्यक्ति वीरगन्ज महानगरपालिका सरसफाई शाखाका कर्मचारी हुन् ।