लकडाउनको प्रभाव : बजारमा तरकारी अभाव, बारीमा कुहिएर नष्ट

Halesi Khabar
0 Shares

खोटाङ, १७ वैशाख । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार लगायतका मुख्य बजारहरुमा तरकारी अभाव भएको छ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको ‘लकडाउन’का कारण गाउँ तथा शहरबाट ढुवानी गरेर ल्याउन नपाएपछि जिल्लामा तरकारी अभाव भएको हो ।

अधिकांश खरिद गरेको तरकारी उपभोग गर्ने दिक्तेल बजारका स्थानीय बासिन्दा अहिले चर्को मुल्यमा खरिद गरेर उपभोग गर्न बाध्य बनेका छन् । यसअघिसम्म प्रति केजी रु ५०÷६० मा पाइने गोलभेडा लकडाउनका कारण बजारमा नआएपछि अहिले रु १२० मा खरिद गरेर उपभोग गरिरहेका छन् ।

किनमेल गर्ने सर्वसाधारणका कारण निक्कै व्यवस्त रहने दिक्तेल बजारमा यसअघिसम्म दुई दर्जनभन्दा बढी तरकारी पसल सञ्चालनमा थिए । गाउँ तथा शहरबाट ढुवानी गरेर ल्याउन नपाएपछि अहिले अधिकांश तरकारी पसल बन्द नै भइसकेका छन् ।

छिटफुट रुपमा सञ्चालनमा रहेका तरकारी पसलमा पनि ग्राहकले खोजेको तरकारी पाउन मुस्किल छ । दिक्तेल बजारमा सञ्चालित तरकारी पसलमा अहिले लामो समयसम्म टिक्ने दाल, गुन्द्रुक, सिन्की, भटमासको मस्यौरा लगायत मात्र पाइन्छ ।

सरकारले लागू गरेको लकडाउन जारी रहेसँगै गाउँ तथा शहरबाट तरकारी नआएपछि पसल नै बन्द गर्नु पर्ने अवस्थामा पुगेको दिक्तेल बजारस्थित सङ्गमपार्कका तरकारी व्यापारी श्याम पौडेलले बताउनुभयो । “जिल्लाका तरकारी व्यापारीलाई प्रशासनले सवारी सञ्चालन अनुमति दिएको छैन”, उहाँले भन्नुभयो, “सवारी सञ्चालन अनुमति दिने हो भने, दिक्तेल बजारमा आवश्यक तरकारी गाउँबाट ढुवानी गरेर ल्याउन सकिन्छ । तर, पटक–पटक अनुरोध गर्दा पनि प्रशासनले सवारी अनुमति दिन मानेन ।”

जिल्लाको सदरमुकामसमेत रहेको दिक्तेल बजारमा सञ्चालित तरकारी पसलबाट सर्वसाधारणसँगै निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले खरिद गर्दै आएका थिए । ढुवानीका साधन हुने केही पसल बाहेक दिक्तेल बजारका अधिकांश तरकारी पसल स्थानीय कृषकको उत्पादनले सञ्चालन हुँदै आएको थियो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्रमा पर्ने दिक्तेल बजारमा हप्ताको दुई दिन बुधबार र शनिबार हटिया लाग्दै आएको थियो । विशेषगरी कृषि उपजहरु (दाल, तरकारी, चामल, फलफूल, कुखुराको भाले, सुँगुरको पाठापाठी आदि) खरिद तथा बिक्री हुने उक्त हटिया डेढ महिनादेखि अनिश्चितकालीन बन्द छ ।

अधिकांश व्यापारी तथा कर्मचारीको बसोबास रहेको दिक्तेल बजारमा अहिले आसपासका कृषकका बारमै गएर खरिद गरेर ल्याएको तरकारी उपभोग हुने गरेको छ । लकडाउनका कारण दिनभर बन्द हुने दिक्तेल बजारमा सञ्चालित तरकारी पसल भने बिहान ७ बजेदेखि १० बजेसम्म खुलाउन प्रशासनले अनुमति दिएको छ ।

दिक्तेल बजार लगायत स्थानीय बासिन्दाको बाक्लो बस्ती रहेको जिल्लामा तरकारी अभाव भएपनि कृषकको बारीमा उत्पादित तरकारी भने कुहिएर गएको पाइएको छ । जिल्लाका कतिपय कृषकले उत्पादन गरेको तरकारी बिक्री नभएपछि गाई तथा भैंसीलाई कुँडोको रुपमा पकाएर खुवाउने गरेको पाइएको छ ।

लामो समयको लकडाउनका कारण आफूले उत्पादन गरेको काउली मात्रै २५० केजीभन्दा बढी कुहिएर खेर गएको सोल्माका अगुवा कृषक गंगाबहादुर विश्वकर्माले बताउनुभयो । “अहिले सबै कृषकको बारीमा काउली, बन्दा, गोलभेडा लगायतका सागसब्जी बिक्री गर्ने अवस्थामा छ”, उहाँले भन्नुभयो, “लकडाउनका कारण बजार लैजान नपाएपछि बारीमै कुहिएर गइरहेको छ ।”

अन्यबाली लगाउने जमिनसमेत मासेर तरकारी खेती शुरु गरेका कृषक आफूले उत्पादन गरेको तरकारी लकडाउनका कारण बिक्री गर्न नपाएपछि निराश बनेका छन् । जिल्लाका दिक्तेल, सोल्मा, खाल्ले, लफ्याङ, बाम्राङ, याम्खा, नेर्पा लगायतका कृषक व्यवसायिक तरकारी खेतीमा लागेका छन् ।

जिल्लामा उत्पादित अर्गानिक तरकारी राजधानी काठमाडौँ लगायत तराईका विभिन्न शहरमा समेत निर्यातसमेत हुन थालेको थियो । आफूले उत्पादन गरेको तरकारी बाहिरी जिल्लामासमेत निर्यात हुन थालेपछि जिल्लाका कृषक आधुनिक प्रविधि अपनाएर व्यवसायिक तरकारी खेती गर्न लागी परेका थिए ।

तपाईको प्रतिक्रिया