खोटाङ, २० वैशाख । रावाबेँसी गाउँपालिकामा उदयपुरबाट घर आइपुगेका दम्पतीलाई क्वारेन्टाइनमा राखिएको छ । गत फागुन अन्तिम साता नेपालटारस्थित आफन्तको घरमा पुगेका रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका दम्पत्तीलाई १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको हो ।
मालबाहक गाडीमार्फत ओखलढुङ्गासम्म आएर पैदल घर आएका दम्पत्तीलाई देउराली माविमा बनाइएको क्वारेन्टाइनमा राखिएको स्वास्थ्यचौकी डुम्रेधारापानीका अवेह मनीराम अधिकारीले बताउनुभयो । आफन्तको घरमा पुगेकोबेला लकडाउनका कारण लामो समयसम्म अल्झिएका दम्पत्तीलाई घर नपुग्दै क्वारेन्टाइनमा लगेर राखिएको हो ।
उदयपुरमा कोरोना भाइरसको सङ्क्रमित फेला परेसँगै उदयपुरबाट आउने स्थानीयमाथि निगरानी बढाइएको छ । रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाका अनुशार हौंचुरमा पनि दुई जना क्वारेन्टाइनमा छन् ।
हालसम्म १० जना क्वारेन्टाइनबाट छुटिसकेका छन् । यस्तै, २३ जनालाई होम क्वारेन्टाइनमा राखिएको गाउँपालिकाले जनाएको छ ।