बिरामीको घरैमा लगेर निःशुल्क वितरण ग¥यो गाउँपालिकाले औषधि

Halesi Khabar
0 Shares

खोटाङ, २० वैशाख । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ‘लकडाउन’को कारण नियमित औषधि सेवन गर्न नपाएका ३०८ जना बिरामीलाई घरैमा लगेर निःशुल्क औषधि वितरण गरेको छ । कोरोना भाइरस नियन्त्रण गर्न सरकारले लागू गरेको ‘लकडाउन’का कारण औषधि ल्याउन नपाउँदा सेवन गर्न नपाएका दीर्घ रोग भएका बिरामीलार्ई गाउँपालिकाले आवश्यक औषधि ल्याएर निःशुल्क वितरण गरेको हो ।

ब्लड प्रेसर, सुगर, युरिक एसिड, मुटु रोग, ग्याँस्ट्रिक, अल्सर, पिसाब पोल्ने लगायतका समस्या भएका र नियमित औषधि सेवन गरिरहेका बिरामीलाई निःशुल्क वितरण गरिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो । “अहिले हाम्रो ध्यान कोरोना भाइरसतर्फ मात्रै केन्द्रित छ”, उहाँले भन्नुभयो, “तर, यो बेला रोगसँग जुधिरहेका बिरामीलाई बिर्सनु हुन्न । औषधि लिन जान नपाएर अप्ठ्यारामा परेका बिरामीलाई तत्काललाई १५ दिनसम्म पुग्ने औषधि ल्याएर निःशुल्क वितरण गरेका हौँ ।”

स्थानीय स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वएम्सेविकामार्फत सिफारिस भएर आएको बिरामीको नाम, औषधिको नाम र मात्राका आधारमा बिरामीलाई १५ दिन पुग्ने औषधि वितरण गरिएको गाउँपालिकाले जनाएको छ । ‘लकडाउन’का कारण औषधि लिन जान नपाउँदा अधिकांश बिरामीको औषधि सकिएर समस्यामा परेको अवस्थामा गाउँपालिका आफैले औषधि ल्याएर निःशुल्क वितरण गरेको हो ।

पहिलो चरणमा रु एक लाख ५० हजारमा खरिद गरेर ल्याइएको औषधि सम्बन्धित वडामा कार्यरत स्वास्थ्यकर्मीमार्फत वैशााख १२ गतेदेखि घर–घरमा पुगेर वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ । नियमित औषधि सेवन गरिरहेका वडा नम्बर–१ याम्खाका ८० जना, वडा नं.–२ डाँडागाउँका ३३ जना, वडा नं.–३ छोरम्बुका ११ जना, वडा नं.–४ बतासेका ६७ जना, वडा नं.–५ सछितापोखरीका ३७ जना, वडा नं.–६ छितापोखरीमा २५ जना र वडा नं.–७ टेम्माका ५५ जना बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइएको गाउँपालिका प्रमुख राईले बताउनुभयो ।

गाउँपालिकाले आफ्नो घरैमा निःशुल्क औषधि उपलब्ध गराएपछि नियमित औषधि सेवन गर्दै आएका बिरामीसमेत हर्षित भएका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सबैको ध्यान केन्द्रित भइरहेको अवस्थामा रुघाखोकी, झाडापखाला, ज्वरो लगायतका मौसमी महामारी फैलिने खतरा पनि उत्तिकै भएको भन्दै स्वास्थ्य संस्थालाई रु पाँच लाख बराबरको जगेडा औषधिसमेत खरिद गरेर प्रदान गरेको छ ।

लामो समयको लकडाउनका कारण अन्य स्थानीय तहका बिरामीले नियमित सेवन गर्दै आएको औषधि सकिएपछि समस्यामा परेका छन् । कतिपय बिरामीले आफन्त तथा स्वास्थ्यकर्मीमार्फत झिकाएर सेवन गरिरहेका छन् ।

दश स्थानीय तह रहेको जिल्लामा नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको औषधिसमेत अभाव हुने अवस्थामा पुगेको जनाइएको छ । जिल्लाका हरेक स्थानीय तहले औषधि खरिदका लागि बजेट विनियोजन गरेपनि लकडाउनका कारण ढुवानी गर्न नपाउँदा अभाव हुने अवस्था आएको हो ।

एउटा मात्र सरकारी अस्पताल रहेको जिल्लामा संघ तथा प्रदेश सरकारबाट नियमित आउने औषधि अहिलेसम्म एक पटक पनि नआएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले बताउनुभयो । स्वास्थ्य मन्त्रालयले निःशुल्क उपलब्ध गराउने ७० किसिमको औषधि जिल्ला स्वास्थ्य कार्यालयमार्फत जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्थानीय तहलाई वितरण गरिँदै आइएको छ ।

तपाईको प्रतिक्रिया