खोटाङ, २२ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित लाफेहँछा सेवा समाजले बढीमा १५ जनाको उपस्थितिमा मात्र साकेला मनाउने निर्णय गरेको छ । हरेक वर्ष पूर्णिमाको दोश्रो दिन लफ्याङमा सयौंको उपस्थितिमा साकेला मनाउने गरिएकामा यसपल्ट कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको ‘लकडाउन’लाई मध्यनजर गर्दै उक्त समाजले बढीमा १५ जनाको उपस्थितिमा मात्र साकेला पुज्ने निर्णय गरेको हो ।
सरकारले लागू गरेको लकडाउनलाई सम्मान गर्दै थोरै उपस्थितिमा साकेला मनाउने निर्णय गरिएको समाजका सदस्य राजेन्द्र राईले बताउनुभयो । “साकेला पुज्नेक्रममा अनिवार्य उपस्थित हुनुपर्ने धामी, सिलिमपा, सिलीममा, मुल ढोले तथा उनीहरुका एक÷एक जना सहयोगीको उपस्थितिमा मात्र साकेला पुज्ने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो, “आफन्तजन तथा पाहुनापाछाबीच शुभकामना आदान÷प्रदान गरेर मनाइने पर्व भएपनि यसपल्टको साकेलामा नआउन सबैमा आग्रह गरिएको छ ।”
किराती राईहरुको घनाबस्ती रहेको माझ किरात खोटाङमा पितृ तथा ऐतिहासिक थलो मानिएको ठाउँहरुमा पूजाआजा गरेर साकेला सिली प्रदर्शन गर्दै महिनादिनसम्म साकेला उभौली पर्व मनाउने चलन छ । वैशाख पूर्णिमादेखि शुरु हुने उभौली साकेला पर्व ‘खेतीपाती सप्रियोस, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना सहित पितृ तथा भूमिको पूजाआजा गरी मनाउने गरिन्छ ।
साकेला उभौली पर्वको अवसर पारेर जिल्लाका ऐतिहासिक तथा पर्यटकीयस्थलहरु तुवाचुङ–जायाजुङ, रुपाकोट, मेरुङ, जन्तेढुङ्गा, छोङ्खा लगायत धार्मिक तथा पर्यटकीयस्थलका साथै साकेला थानमा साकेला सिली नाच्ने चलन छ । वर्षको दुई पटक उधैली र उभौलीमा किराँत राईहरुको प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूिमको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा हात र खुट्टाले सिली टिप्दै गोलो घेरमा साकेला नाच्ने गरिन्छ ।
छितको गुन्यु मखमलको चोली, पहेंलो पटुकी, दौरासुरुवाल, ढाका टोपी लगायत किराती मौलिक भेषभुषामा ठाँटिएर हरेक किराती राईहरुको घरघरमा नाच्दै गाँउदै हर्षोल्लासका साथ मनाइने यो पर्वमा किरात समुदाय मात्र नभई गैरकिरात समुदायका युवायुवतीहरु समेत सहभागी भएर साकेला सिली नाच्ने गरेका छन् । चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल÷झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनाका साथ साकेला पर्व मनाउने गरिएको छ ।
बालकदेखि वृद्धसम्म एउटै लहरमा सामूहिक रूपमा नाचिने साकेला नृत्यले यो आदिवासी जनजातिको सामूहिक भावना प्रदर्शन गरिन्छ । हात र खुट्टाको चालले पङ्तिबद्ध रूपमा नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिन्छ ।
साकेला पर्वले जातीय, धार्मिक तथा साँस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्धन्द्धलाई निरुत्साहित गर्न भूमिका खेल्ने गरेको नेपाल आदिवासी जनजाति महासङ्घ खोटाङका अध्यक्ष हात्तिराम राईले बताउनुभयो । “साकेला पर्वमा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदान÷प्रदान गर्ने गरिन्छ”, उहाँले भन्नुभयो, “प्रकृति र पितृको पूजासँगै मनाइने यो साकेला पर्वले किरात र गैरकिरातबीच आपसी सद्भाव र बन्धुत्व कायम गर्नसमेत सघाउ पु¥याउने गरेको छ ।”
हरेक वर्ष जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित मझुवागढीबाट शुरु गरिने साकेला उभौली पर्व यसवर्ष विधिवत् रुपमा मात्र मनाउने तयारी गरिएको किरात राई यायोख्खाका खोटाङका सचिव युगशन किरातले बताउनुभयो । “सरकारले लागू गरेको लकडाउनलाई मध्यनजर गर्दै यस वर्ष विधिवत् रुपमा मात्र साकेला मनाउन केन्द्रबाटै सर्कुलर जारी भएको छ”, उहाँले भन्नुभयो, “कोरोना भाइरसबाट जोगिन आफू सुरक्षित रहँदै अनिवार्य रुपमा गर्नुपर्ने पूजाआजा गर्दा पनि बढीमा पन्ध्र जनामात्रै सहभागी हुन जिल्लास्थित सबैलाई आग्रह गरिएको छ ।”
बिगत वर्षहरुमा महिना दिनसम्म मनाइने उभौली पर्वको अन्तिम दिन दिक्तेलको माटीकोरे खेलमैदानमा बृहत साकेला सिली प्रदर्शन गर्ने गरिएको थियो । समापन कार्यक्रममा राजनीतिक दल, जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुख, जातीय सङ्घ संस्थाका प्रतिनिधि लगायतलाई निम्तो दिने गरिएको थियो ।