काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानिसको शरीरमा डिस्इन्फेक्टेन्ट छर्किनु हानिकारिक भएको बताएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शरीरमा केमिकल स्प्रे गरेर कोरोना भाइरस नमर्ने बताउनुभयो ।
मासिनको शरीरमा कोरोना भाइरस प्रवेश गरेपछि यस्ता डिस्इन्फेक्टेन्ट छर्दा नाश नहुने उहाँले दाबी गर्नुभयो । भाइरसको वृद्धि मानिसको शरीरभित्रको कोषमा वृद्धि भइरहने भएकाले यसले कुनै अर्थ नराख्ने उहाँको भनाइ छ ।
शरीरमा छरिएको डिस्इन्फेक्टेन्टले आँखा,मुख,नाक आदिमा हानी र्पुयाउनुका साथै सही तरिकाले उपयोग नगर्दा श्वासप्रश्वासमा विभिन्न समस्या उत्पन्न हुनेसमेत प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।
सोमबार मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता देवकोटाले किटनाशक झोलको सही तारिका तथा मात्रामा प्रयोग गर्दा भुइँ, यातायातका साधन, छुने गरेका वस्तु, सामग्रीमा स्प्रे गर्दा सतह मात्रै निःसंक्रमण हुने बताउनुभयो ।
उहाँले भाइरसबाट बँच्न सबैभन्दा सरल र महत्वपूर्ण उपाय भनेको २० सकेन्ड मिचिमिची हात धुने, सामाजिक दूरी कायम गर्ने र लकडाउनको पूर्ण पालना गर्नुपर्ने जानकारी दिनुभयो । यस्तै, सोमबारसम्म कोरोना संक्रमितको संख्या ७५ रहेको मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा रुपन्देहीमा १ जना, नेपालगञ्जमा १६ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना, विरगञ्जमा ९ जना तथा विराटनगरमा ३१ जना गरी ५९ जनाको उपचार भइरहेको छ र उनीहरुको स्वास्थय अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जनाए अनुसार हालसम्म कुनै पनि बिरामीमा गम्भीर लक्षण देखिएका छैनन् । कोरोना सङ्क्रमण देखिएका सबै जनाको स्थिति सामान्य रहेको जनाइएको छ ।
सोमबारसम्म नेपालमा आरडीटी विधिबाट ५० हजार ८ सय ८५ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १३ हजार ६ सय ४० परीक्षण भएको छ ।
त्यसैगरी सोमबारको प्रेस ब्रिफिङमा आइसोलेसनमा देशभरी १ सय ६ जना रहेका छन् । काठमाडौँमा १ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर १ सय ५ जना रहेका छन् । क्वारेन्टाइनमा २१ हजार ५ सय २३ जना रहेको मन्त्रालयले जनाएको छ ।