आफ्नो गाउँ प्रवेशमा रोक लगाउन युवाको सक्रियता, दैनिक १२ घण्टा ड्युटी

Halesi Khabar
0 Shares

खोटाङ, २४ वैशाख ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका युवा आफ्नो गाउँ प्रवेश गर्ने १४ वटा नाकामा खटिएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको ‘लकडाउन’को समयमा पनि आवतजावत गर्नेक्रम नरोकिएपछि त्यसलाई रोक्न प्रत्येक नाकामा चार÷चार जनाका दरले बिहान ६ बजेदेखि बेलुका ६ बसेसम्म दैनिक १२ घण्टा युवा खटिएका हुन् ।

स्थानीय बासिन्दालाई समेत एउटा टोलदेखि अर्को टोल आवजावत गर्न नदिनेगरी रोक लगाउन लागीपरेका युवा साबिकको नौँ वटै वडाका नाकामा परिचालित भएको वडाध्यक्ष रामचन्द्र राईले बताउनुभयो । “हरेक घरका युवा पालैपालो एक÷एक दिन नाकामा बस्नेगरी समिति बनाएरै खटिएका छन्”, उहाँले भन्नुभयो, “नाकामा खटिने युवालाई वडा कार्यालयबाट स्वयम्सेवक परिचयपत्र र मास्क उपलब्ध गराइएको छ ।”

घरमा बिहान खाना खाएर नाकामा खटिने युवा आफैले दिउसोको लागि भुटेको मकै, सातु तथा अन्य खाजा लिएर जाने गरेका छन् । नाकामा खटिएका युवाको टोलीले गम्भीर किसिमका बिरामी तथा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका सवारी साधनबाहेक पैदल यात्रुलाई समेत रोक लगाउने गरेका छन् ।

दिक्तेलबाट खार्मी प्रवेश गर्ने देउराली, पाथेकाबाट प्रवेश गर्ने देखुमेखोलाको पुल, जालपाबाट प्रवेश गर्ने लुम्जुखोला, रुपाकोटबाट प्रवेश गर्ने ढिकाडाँडा, केपिलासगढी गाउँपालिकाबाट प्रवेश गर्ने रुधालुङ र तुर्खा पुछारमा टोली खटिएको वडा सचिव चित्रकुमार सुवेदीले जानकारी दिनुभयो । यस्तै, एउटा टोलदेखि अर्को टोल प्रवेशमा रोक लगाउन बाँझोबारी, झिँगुचोक, रुयल, निगाँले, गुरुङगाउँ, जागित्राडाँडा, बिखर्कु लगायतका ठाउँमा समेत युवाको टोली परिचालन भएको जनाइएको छ ।

मुख्य चोक तथा बाटोमा प्रवेश निषेध लेखिएको सूचनाटाँसेर परिचालित भएका युवाले गाउँमा कोरोना भाइरस सम्बन्धी जनचेतना अभिवृद्धिको कामसमेत गरिरहेका छन् । प्रवेश निषेधको जानकारी नपाएर आउने व्यक्तिलाई बाटैबमा सम्झाईबुझाई फर्काउने गरिएको नाकामा खटिएका बोहोरीबोटका युवक चिनकाजी राईले बताउनुभयो ।

दिनभर नाकामा खटिने युवाले घाम र पानीबाट जोगिन आफ्नै खर्चमा पाल तथा चित्राको गोठ बनाएर बस्ने गरेका छन् । आफ्नो गाउँको सुरक्षार्थ खटिने युवालाई वडाको तर्फबाट सामान्य खाजाको व्यवस्था गर्ने तयारी गरिएको जनाइएको छ ।

छिमेकी जिल्ला उदयपुरमा कोरोना सङ्क्रमित भेटिएपछि खोटाङमा पनि उच्च सतर्ककता अपनाइएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताउनुभयो । “उदयपुरका स्थानीय बासिन्दासमेत खोटाङ जिल्ला भित्रिनेक्रम बढ्दै गएपछि सम्पूर्ण नाका शिलबन्दी गरिएको छ”, उहाँले भन्नुभयो, “किराँत समुदायको साकेला, हिन्दुधर्मावलम्बीको देवाली लगायत चाडवाड पनि नजिकिँदै गरेकाले धार्मिक, सामाजिक, साँस्कृतिक चाडवाड मनाउँदा पनि कम उपस्थितिमा मनाउन आग्रह गरिएको छ ।”

दश स्थानीय तह रहेको खोटाङमा अहिलेसम्म ११५ जनाको ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) तथा १५ जना व्यक्तिको नमूना (स्वाब) पिसिआर परीक्षण गरिएकामा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिनुभएको छ । वैदेशिक रोजगारीको सिलसिलामा गत चैत यता विभिन्न देशबाट घर फर्किएका दश वटै स्थानीय तहका ११५ जना व्यक्ति आरडिटि तथा १५ जना व्यक्तिमा पिसिआर परीक्षण गरिएको थियो ।

जिल्लाका दश वटै स्थानीय तहमागरी ३०४ शैयाको क्वारेन्टाइन र १३ शैयाको आइसोलेसन वार्ड निर्माण गरिएको छ । सबै स्थानीय तहमा क्वारेन्टाइन निर्माण गरिएपनि विदेशबाट फर्किएर क्वारेन्टाइन बस्नेको सङ्ख्या भने न्यून देखिएको छ ।

कम सङ्ख्यामा क्वारेन्टाइनमा राखिएका व्यक्तिले पनि विभिन्न माग राख्दा स्थानीय तहका जनप्रतिनिधि हैरानीमा परेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशबाट फर्किएपछि क्वारेन्टाइनमा राखिएका व्यक्तिले दैनिक मासुभात, रक्सी र निःशुल्क वाईफाई सेवा उपलब्ध गराउन माग गरेपछि समस्या भएको हो ।

तपाईको प्रतिक्रिया