धार्मिक तथा साँस्कृतिक चाड कम उपस्थितिमा मनाउन आग्रह

Halesi Khabar
0 Shares

खोटाङ, २४ वैशाख । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले जिल्लामा साकेला, देवाली लगायतका चाडवाड कम उपस्थितिमा मनाउन आग्रह गरेको छ । किरात राई समुदायको साकेला उभौली, हिन्दुधर्मावलम्बीको देवाली लगायत विभिन्न जातजातिको चाडवाड नजिकिँदै गरेको अवस्थामा आज (मङ्गलबार) बसेको समितिको बैठकले कम उपस्थितिमा धार्मिक, सामाजिक, साँस्कृतिक चाडवाड मनाउन आग्रह गर्ने निर्णय गरेको हो ।

बढी भीडभाड हुँदा एकबाट अर्को व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण फैलिने खतरा देखिएकाले साकेला, देवाली लगायतका चाडवाडलाई विधिकारुपमा मात्र मनाउन आग्रह गर्ने निर्णय गरिएको समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताउनुभयो । “चाडवाड मनाउनेक्रममा नेपाल सरकारले तोकेको अधिकतम २५ जनाभन्दा बढीको उपस्थिति नगर्न÷नगराउन आग्रह गरिएको छ”, उहाँले भन्नुभयो, “बैठकमा सहभागी विभिन्न जातीय सङ्गठनका प्रतिनिधिले पनि बढीमा २५ जनाको उपस्थितिमा आफ्नो चाडवाड मनाउने निर्णयमा सहमति जनाएका छन् ।”

धार्मिक, सामाजिक तथा साँस्कृतिक चाडवाड मनाउनेक्रममा दुई व्यक्तिबीचमा अनिवार्य न्यूनतम एक मिटरको सामाजिक दूरी कायम गर्नसमेत आग्रह गरिएको जनाइएको छ । सरकारले लागू गरेको लकडाउनका कारण कतिपय हिन्दुधर्मावलम्बी समुदायले आफ्नो देवालीलाई महिना दिनपछि सारेको बताएका छन् ।

यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित लाफेहँछा सेवा समाजले बढीमा १५ जनाको उपस्थितिमा मात्र साकेला मनाउने निर्णय गरेको थियो । हरेक वर्षको पूर्णिमाको दोस्रो दिन लफ्याङमा सयौंको उपस्थितिमा साकेला मनाउने गरिएकामा यसपल्ट लकडाउनलाई मध्यनजर गर्दै बढीमा १५ जनाको उपस्थितिमा मात्र साकेला पुज्ने निर्णय गरिएको समाजका सदस्य राजेन्द्र राईले बताउनुभयो ।

हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको बसोबास रहेको खोटाङ जिल्लामा अहिले आ–आफ्नो जातबिसेकको पितृ कार्य शुरु भएको छ । किराँत समुदायाको बाहुल्यता रहेको खोटाङमा साकेला उभौली महिना दिनसम्म मनाउने चलन छ ।

तपाईको प्रतिक्रिया