खोटाङ, २५ वैशाख । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको ‘लकडाउन’को अवधिमा सामाजिक दूरी कायम गर्दै खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम शुरु गरिएको छ । सरकारले लागू गरेको लकडाउनलाई पालना गर्दै शहरी विकास तथा भवन निर्माण विभागको लगानीमा यहि असार मसान्तमा सम्पन्न गर्नेगरी दिक्तेल बजारस्थित रत्नपार्कको किराँत चोकदेखि हाटडाँडासम्मको सडक ढलानको काम शुरु गरिएको हो ।
क्रमागत योजना अन्तरगत पर्ने दिक्तेल बजारको सडक ढलानमा शहरी विकास तथा भवन निर्माण विभाग विराटनगर मार्फत यो वर्ष रु पाँच करोड खर्च हुने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताउनुभयो । “दिक्तेलबजारको सडक ढलानमा करीब रु १५ करोड रकम खर्च हुने डिपिआर (बिस्तृत परियोजना प्रतिवेदन)मा उल्लेख छ” उहाँले भन्नुभयो, “क्रमागत योजना भएकाले यस वर्ष रु पाँच करोड बजेटको मात्र टेन्डर (आशयपत्र) आह्वान गरेर ठेकेदार कम्पनीमार्फत ढलानको काम शुरु गरिएको हो ।”
साँघुरो तथा कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल बजारको सडक ढलान गर्न अर्थ मन्त्रालयले गत पुस–२९ गते शहरी विकास मन्त्रालयलाई बजेट निकासा गर्न निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशनपछि शहरी विकास मन्त्रालयले मातहतका शहरी विकास तथा भवन निर्माण विभागलाई बजेट निकासा गरेर कामलाई तत्काल अगाडि बढाउन पत्रमार्फत निर्देशन दिएपनि लकडाउनका कारण ढिलाइ भएको हो ।
पूरानो संरचनाका घरहरु रहेको दिक्तेल बजारको सडक ढलान गर्ने जिम्मा दिव्यज्योती–आइडी–रुजन जेभीले लिएको छ । किराँत चोकबाट ढलानको काम शुरु गरिएकोे सडकमा अहिले फराकिलो पार्ने, दाँया÷बाँया पर्खाल हाल्ने, घरको बार्दली तथा विजुलीको पोल हटाउने, निर्माण सामग्री भित्र्याउने लगायतका काम तीव्रगतिमा भइरहेको छ ।
दाँया÷बाँया छोडेर सडकको मध्ये भागमा करीब सात मीटर ढलान गरिने निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि एवम् निर्माण व्यवसायी सुनिल राईले बताउनुभयो । “सडकमा फलामे रड, गिटी, बालुवा र सिमेन्ट प्रयोग गरेर साँढे १७ सेन्टीमिटर कङ्क्रिट ढलान गरिनेछ”, उहाँले भन्नुभयो, “यस वर्ष ढलान गरिने करीब ७०० मिटर सडकको लागि आवश्यक सामग्री ल्याइएकाले तोकिएकै मितिमा सम्पन्न गरेर सम्बन्धित निकायलाई बुझाउने योजनाका साथ कामलाई तीव्रता दिएका छौँ ।”
लामो समयदेखि धुलाम्मे अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल बजारको सडक यसअघि पनि पटक÷पटक ढलानको प्रयास गरिएको थियो । दिक्तेल बजारकै केही स्थानीय बासिन्दाको अवरोधका कारण विभिन्न निकायबाट सडक ढलानका लागि पटक÷पटक विनियोजन भएर आएको करोडौँ रकम कामै नगरी फिर्ता भएको थियो ।
दिक्तेल बजारमा देखिने सबै समस्यालाई नगरपालिकाको तर्फबाट समाधान गरेर जुनसकै हालतमा सडक ढलानको कामलाई सफल पारिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । “सडक ढलानमा बजार क्षेत्रका दुई वटा घरले असर गर्ने देखिएको छ”, उहाँले भन्नुभयो, “ती घरहरुलाई उचित व्यवस्थापन गरेर ढलानको काम गरिनेछ ।”
दिक्तेल बजारको मुख्य सडकसँगै आसपासको शाखा सडक समेत यसै वर्ष ढलानको काम शुरु गरिको छ । नगरपालिका र प्रदेश सरकारको साझेदारी कार्यक्रम अन्तरगत रु दुई करोड लगानीमा त्रिवेणीचोकदेखि लोकसेवा आयोगको कार्यालयसम्म तथा पूरानो बैङ्कचोकदेखि झिसेपू मन्दिर जाने सडक शहरी विकास तथा भवन डिभिजन कार्यालय ओखलढुङ्गाको रु ६० लाख र संघीय कार्यान्वयन इकाई कार्यालय विराटनगरको रु दुई करोड लगानीमा दिक्तेल–दुम्ली सडक ढलान हुँदै छ ।
मुख्य सडक बाहेक तीन वटै सडक ढलानको काम शुरु भइसकेको नगरप्रमुख रिजालले जानकारी दिनुभयो । “तीन वटै सडक ढलान गर्न ठेकेदार कम्पनीसँग सम्झौता गरेर काम थालिएको छ”, उहाँले भन्नुभयो, “नगरपालिकाभित्रका बाँकी सडक समेत बाह्रै महिना सञ्चालनमा ल्याउनेगरी कामलाई अगाडि बढाइएको छ ।”
मध्यपहाडी लोकमार्गले छोएको दिक्तेलबजार ढिलै भएपनि ढलान हुने भएपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् । हप्ताको दुई पटक बुधबार र शनिबार हटिया लाग्ने दिक्तेल बजारको सडकमा अहिले हिउँदको समयमा धुलो र वर्षाद्को समयमा हिलोका कारण समस्या हुने गरेको छ ।
तस्वीर उपलब्ध छ ।