जिल्ला अस्पताल खोटाङमा पोषण पुनः स्थापना गृह सञ्चालन हुँदै

Halesi Khabar
0 Shares

खोटाङ, २५ वैशाख । जिल्ला अस्पताल खोटाङमा कुपोषित बालबालिकाको उपचार एवम् स्याहार सुसार गर्न आवासीय पोषण पुनः स्थापना गृह सञ्चालनको तयारी गरिएको छ । कुपोषणबाट ग्रस्त भएका बालबालिकाको उचित खानपानका साथै उचित स्याहार सुसारको व्यवस्था गर्न नेपाल युथ फाउण्डेसनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखामार्फत अस्पतालले आवासीय पोषण पुनःस्थापना गृह सञ्चालनको तयारी गरेको हो ।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले पाँच शैयाको पोषण पुनःस्थापना गृह सञ्चालनको टुङ्गो लगाएको अस्पताल विकास समितिका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले जानकारी दिनुभयो । “बालबालिकालाई कुपोषणका कारण हुने बौद्धिक तथा शारीरिक अपाङ्गताको सिकारबाट बचाउने तथा कडा रोग लाग्नबाट जोगाउन पोषण पुनःस्थापना गृह सञ्चालन गर्न लागिएको छ”, उहाँले भन्नुभयो, “आवश्यक उपचार र व्यवस्थापनद्धारा कुपोषित बालबालिकाको उचाई र उमेर अनुशारको तौल पु¥याउन केही समय राखिने उपचार कक्ष पोषण पुनःस्थापना गृह हो । आवासीय पोषण पुनःस्थापना गृहमा कुपोषणले ग्रस्त भएका जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई राखेर उनलाई आवश्यक निःशुल्क स्वास्थ्य उपचारका साथै सन्तुलित आहारको व्यवस्था गरिनेछ ।”

पोषण पुनःस्थापना गृहमा कुपोषित बालबालिकाको हेरचाहका लागि उसका एक जना अभिभावकलाई समेत राख्ने व्यवस्था गरिएको जनाइएको छ । पोषण पुनःस्थापना गृहबाट डिस्चार्ज भइसकेपछि पनि छ महिनाको अवधिमा तीन पटक बच्चाको स्वास्थ्य अवस्था र हेरचाह गर्ने अभिभावकले हाँसिल गरेका ज्ञानको प्रयोगका बारेमा अनुगमन गरिने संयोजक चाम्लिङले बताउनुभयो ।

आवासीय पोषण पुनःस्थापना गृहमा स्वास्थ्यकर्मी, कुकर, कार्यालय सहयोगी सहित आठ जना कर्मचारी राखिने अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ । पुनः स्थापना गृहमा राखिएका कुपोषित बालबालिकालाई अवस्था हेरेर दैनिक आठदेखि १२ पटकसम्म आहारा खुवाउनुपर्ने सञ्चालन निर्देशिकामा उल्लेख छ ।

दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म एउटा मात्र अस्पताल सञ्चालनमा छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आवासीय पोषण पुनः स्थापना गृह सञ्चालन हुने भएपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् ।

तपाईको प्रतिक्रिया