खोटाङ, २९ वैशाख । साकेला गाउँपालिका–२ रतन्छाका दुई जनाको ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) रिपोर्ट ‘पोजेटिभ’ देखिएको छ । दुबईबाट फागुन–११ गते काठमाडौँ ओर्लिएर वैशाख–१२ गते रिजर्भ गाडीमार्फत गाउँ आइपुगेका ५८ वर्षका पुरुष र काठमाडौँमै बसिरहेको अवस्थामा रिजर्भ गाडीबाटै वैशाख–१३ गते गाउँ आएका २३ वर्षीय युवकको आरडिटि रिपोर्ट पोजिटिभ देखिएको हो ।
पोजिटिभ रिपोर्ट देखिएका दुई जना र उनीहरुको परिवारका अन्य सदस्यको पिसिआर परीक्षण गर्न थ्रोट स्वाव सङ्कलन गरेर पठाउने तयारी गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो । “रतन्छामा २२ जनाको परीक्षण गर्दा दुई जनाको आरडिटि रिपोर्ट पोजिटिभ देखिएको छ”, उहाँले भन्नुभयो, “पिसिआरको रिपोर्ट नआएसम्मका लागि उनीहरुको घरलाई पूर्णरुपमा सिल गरिएको छ ।”
काठमाडौँबाट आएलगत्तै १४ दिन क्वारेन्टाइन बसेपछि होम क्वारेन्टाइनमा पठाइएको अवस्थामा उनीहरुको आरडिटि परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । आरडिटि रिपोर्ट पोजेटिभ देखिएका रतन्छाका ५८ वर्षीय पुरुष चढेको बा ४ ख २१२९ नम्बरको गाडीमा वैशाख–१२ गते ३७ जना र वैशाख–१३ गते २३ वर्षीय युवक चढेको बा ४ ख ५० २८ नम्बरको गाढीमार्फत ३८ जना सर्वसाधारण जिल्ला भित्रिएका जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताउनुभयो ।
गाउँपालिकाको तर्फबाट आरडिटि किट ल्याएर परीक्षण शुरु गरिएकै दिन दुई जनाको रिपोर्ट पोजेटिभ आएसँगै लकडाउनलाई पूर्ण पालना गर्न स्थानीयबासीलाई आग्रह गरिएको गाउँपालिका प्रमुख खड्काले बताउनुभयो । “एक गाउँबाट अर्को गाउँ आवतजावत गर्ने नाका पूर्णरुपमा बन्द गरिएको छ”, उहाँले भन्नुभयो, “क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा रहनुभएका सबैलाई नआत्तिन र सतर्क रहन आग्रह गरिएको छ ।”
यसअघि प्रदेश सरकारले पठाएको किटमार्फत वैशाख–९ गते १५ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । वैशाख यता सो गाउँपालिकामा भारत लगायत जोखिमयुक्त क्षेत्रबाट पैदल आउनेको ३१ गतेभित्र परीक्षण गरिने भएको छ ।
देशभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउन पालना गराउन खोटाङस्थित प्रहरी प्रशासन कमजोर देखिएको छ । दश स्थानीय तह रहेको जिल्लामा अहिले खुलेआमरुपमा सर्वसाधारणलाई हिँडडुल गर्न तथा पसल सञ्चालन गर्न दिइएको छ ।