खोटाङ, ४ जेठ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले भारतबाट आउने नागरिकलाई अनिवार्यरुपमा क्वारेन्टाइनमा राख्न स्थानीय तहलाई आग्रह गरेको छ । भारतमा बन्दाबन्दी खुकुलो पारिएसँगै हजारौँ नागरिक गाउँ आउने सम्भावना बढेको भन्दै समन्वय समितिले जिल्लाका दश वटै स्थानीय तहलाई पत्राचार गरेर उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
रोजगारीका सिलसिलामा भारतका विभिन्न स्थानमा पुगेको अवस्थामा बन्दाबन्दी कारण अड्किएका नागरिक घर आएको खण्डमा अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न स्थानीय तहलाई लिखित रुपमा भनिएको समितिका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताउनुभयो । “बन्दाबन्दीका कारण हजारौँ जिल्लाबासी भारतमा रोकिएका छन्”, उहाँले भन्नुभयो, “भारतमा बन्दाबन्दी खुृकुलो पारिएसँगै जिल्ला फर्कने सम्भावना बढी रहेकाले आफ्नो पालिकामा आउने स्थानीय बासिन्दाको संख्या सङ्कलन गरेर अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न लिखित पत्रसहित आग्रह गरिएको हो ।”
समन्वय समितिको आइतबार बसेको बैठकले जिल्लामा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणकाक्रममा अग्रपङ्क्तिमा खटिएका व्यक्तिको आरडिटि परीक्षण गर्ने निर्णय गरेको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, जनप्रतिनिधि, सङ्घसंस्थाका प्रमुख, स्वयम्सेवक लगायत सबै व्यक्तिको आरडिटि टेष्ट गर्ने निर्णय गरिएको हो ।
बन्दाबन्दीको समयमा अत्यावश्यक काम, औषधि उपचार, खाद्यान्न खरिद जस्ता कामका लागि जिल्लाका हरेक पालिकामा दैनिक बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ५ बजेसम्म खुला गर्ने र एकरुपता कायम गर्ने निर्णय गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आ–आफ्नै समय तालिका भएकाले एकरुपता ल्याउँदै उच्च सतर्कता अपनाउने निर्णय गरिएको हो ।
यसैबीच, कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको बैठकले बन्दाबन्दीको अवधिमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मात्रै बैङ्किङ कारोबार गर्ने÷गराउनेगरी कार्य तालिका बनाएको छ । राष्ट्रिय बाणिज्य बैङ्कले आइतबार, मङ्गलबार र बिहिबार कारोबार गर्ने गरी नयाँ कार्यतालिका बनाइएको समितिका संयोजक चाम्लिङले जानकारी दिनुभयो ।
यस्तै, कृषि विकास बैङ्क, सेञ्चुरी बैङ्क, बैङ्क अफ काडमाडौँ र एसबिआई बैङ्कले आइतबार र बुधबार कारोबार गर्ने कार्यतालिका बनाइएको छ । एनआइसि एसिया बैङ्क, सालपा विकास बैङ्क र सनराईज बैङ्कले सोमबार र बिहिबार, ग्लोवल आइएमई बैङ्क, ज्योती विकास बैङ्क, माछापुछ«े बैङ्क र सानीमा बैङ्कले मङ्गलबार र शुक्रबार कारोबार गर्ने कार्यतालिका बनाइएको हो ।
बैङ्क तथा बित्तीय कारोबार गर्दा अनिवार्यरुपमा समाजिक दूरी कायम गर्नसमेत आग्रह गरिएको संयोजक चाम्लिङले बताउनुभयो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीलाई पूर्णरुपमा कार्यान्वयन गराउन कडाइका साथ प्रहरी परिचालन गरिएको छ ।
गत चैत–११ गतेदेखि यता जिल्लामा बन्दाबन्दी उलङ्घन गर्ने ५२ जनालाई प्रहरीले पक्राउ गरेर कारबाही गरेको छ । पछिल्लो समय प्रहरीले सडकमा बिना काम डुल्ने सर्वसाधारणलाई नियन्त्रणमा दिएर दुई घण्टा सडकमै उभ्याउन थालेको छ ।