काठमाडौँ । सरकारले जारी लकडाउन १५ दिन थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज (आइतबार) साँझ बसेको बैठकले आगामी जेठ २० गतेसम्म लकडाउन यथास्थितिमै जारी राख्ने निर्णय गरेको हो ।
सोमबारदेखि लकडाउनको अवधि समाप्त हुँदैछ । आइतबारै बसेको कोभिड–१९ नियन्त्रण तथा रोकथाम समितिले लकडाउन १५ दिन थप गर्न सरकारलाई सिफारिस गरेको थियो ।
आइतबार नै कोरोना संक्रमणका कारण देशमा दोस्रो व्यक्तिको मृत्यु भएको छ । सिन्धुपाल्चोककी २९ वर्षिय महिला र बाँकेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
आइतबार लकडाउनको ५५ औं दिन पुगेको छ । तर, कोरोना संक्रमण झन् बढिरहेको छ ।
आइतबारसम्म देशमा कोभिडका २९५ संक्रमित देखिएका छन् ।
लकडाउनका कारण ठूलो दुर्घटनाबाट बचेको भन्दै समितिले लकडाउनको विकल्प नभएको निष्कर्ष निकालेको थियो । छिमेकी भारतले पनि आइतबार नै लकडाउन २ साताका लागि थप गर्ने निर्णय गरेको छ ।