खोटाङ, ५ जेठ । बराहपोखरी गाउँपालिकाले सरकारले लागू गरेको बन्दाबन्दीपीडितलाई राहत बाँड्न शुरु गरेको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण आयमुलक काम गर्न नपाउँदा समस्यामा परेका विपन्न परिवारलाई गाउँपालिकाले राहत बाँड्न शुरु गरेको हो ।
गाउँपालिकाले ६ वडाका विपन्न ७१३ परिवारलाई रु १५ लाख बराबरको १४ हजार ९४५ केजी चामल, एक हजार ६८८ केजी दाल, ८४४ लिटर खाने तेल र एक हजार ३०१ केजी नुन वितरण गर्ने जनाएको छ । एकदेखि दुई जना सदस्य संख्या भएका परिवारलाई प्रतिपरिवार १० केजी चामल, १ केजी दाल, आधा लिटर तेल र एक केजी नुन, दुईदेखि चार जनाको परिवारलाई प्रतिपरिवार २० केजी चामल, २ केजी दाल, एक लिटर तेल र २ केजी नुन तथा पाँच जनाभन्दा बढि संख्या भएका परिवारलाई २५ केजी चामल, ३ केजी दाल, डेढ लिटर तेल र २ केजी नुन वितरण शुरु गरिएको गाउँपालिका उपप्रमुख गोमा मगरले जानकारी दिनुभयो ।
गाउँपालिका उपप्रमुख मगरका अनुसार आईतबार बराहपोखरी गाउँपालिका–५ पौवासेराका १०९ परिवारलाई राहत वितरण गरिएको छ । पौवासेरामा एक देखि दुई जना संख्या भएका २५ परिवार, तीन देखि चार जना संख्या भएका २४ परिवार र पाँचभन्दा बढि सदस्य संख्या भएका ६० परिवारलाई राहत प्रदान गरिएको छ ।
यस्तै, बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका ६० परिवारलाई राहत बाँडिएको छ । मौवाबोटेका एक देखि दुई जना भएका ६ परिवार, तीन देखि चार जना भएका ५ परिवार र पाँचभन्दा बढी सदस्य संख्या भएका ४९ परिवारलाई राहत प्रदान गरिएको प्रशासन सहायक रमेश पोखरेलले बताउनुभयो ।
सोमबार बराहपोखरी गाउँपालिका–२ सुन्तलेका ८५ परिवार र बराहपोखरी गाउँपालिका–३ साउनेचौरका १२१ परिवारलाई राहत बाँडिदै छ । बराहपोखरी गाउँपालिका–१ बराहपोखरीका २६३ परिवार र बराहपोखरी गाउँपालिका–४ फाक्टाङका ७५ परिवारलाई पनि क्रमशः राहत बाँडिने जनाइएको छ ।
राहत वितरणका लागि गाउँपालिका प्रमुख शालिकराम बञ्जरा, उपप्रमुख मगर लगायतका जनप्रतिनिधि ट्याक्टरमा राहत बोकेर वडा–वडा पुग्ने गरेका छन् । जिल्लाका अन्य स्थानीय तहले यसअघि नै राहत वितरण गरिसकेका छन् ।