खोटाङ, ५ जेठ । खोटाङमा एक जना युवकलाई कोरोना सङ्क्रमण देखिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ का २० वर्षीय युवकमा कोरोना सङ्क्रमण देखिएको प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलले बताउनुभयो ।
नगरपालिकाले गत शुक्रबार ३३ जनाको स्वाब सङ्कलन गरेर धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्न पठाएको थियो । पीसीआर परीक्षणका क्रममा ती युवकमा कोरोना सङ्क्रमण देखिएको हो ।
ती युवक वैशाख–१२ गते नगरले पठाएको गाडीमार्फत काठमाडौँबाट घर आएका थिए । वैशाख १० देखि १३ गतेसम्म हलेसी तुवाचुङ नगरपालिकाले काठमडौँबाट एक हजार ३१८ जना नगरबासीलाई उद्दार गरेर ल्याएको थियो ।
प्रजिअ शर्माका अनुसार अहिले कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको जनाइएको छ । युवकलाई आज (सोमबार) राति आइसोलेसनमा राखेर भोलि मङ्गलबार विरानटगरस्थित कोभिड अस्पतालमा पठाउने तयारी भइरहेको छ ।