कोरोनाबाट कसैको मृत्यु नहोस् भन्ने सरकारी प्रयास असफल भयो ः प्रधानमन्त्री ओली

Halesi Khabar
0 Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट कसैको पनि मृत्यु हुन नदिने सरकारको प्रयास असफल भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयोे, “हाम्रो प्रयास कोही पनि नेपालमा कोरोनाको कारणले वा कोरोना संक्रमित भएको अवस्थामा कसैले पनि ज्यान गुमाउनु नपरोस् थियो । हाम्रो प्रयास विभिन्न कारणहरूले असफल भएको छ र दुई जनाको निधन भएको छ ।”

कोरोनाबाट मृत्यु भएकाहरूको अन्य कारणले मृत्यु भएको हुनसक्ने प्रधानमन्त्रीको भनाइ थियो । उहाँले भन्नुभयो, “कोरोना भन्दा अरु जटिलताले निधन भएको हुनसक्छ । विश्वस्वास्थ्य संगठनको मापदण्डअनुसार जुनसुकै अवस्थाले निधन भएको भएपनि कोरोना संक्रमण भएको छ भने त्यसैबाट भएको मान्नुपर्ने हुन्छ ।”

मुलुकमा अरुले कोरोनाबाट ज्यान गुमाउन नपरोस् र अरुमा संक्रमण हुन नपाओस् भनेर सरकारले उच्च सतर्कता अपनाइरहेको प्रधानमन्त्री ओलीको दाबी छ । उहाँले त्यसका लागि गरिरहेका कामबारे पनि संसदलाई जानकारी गराउनुभयो ।

“बढी परीक्षण गर्ने, भरपर्दो ढङ्गले परीक्षण गर्ने । क्वारेन्टाइन भरपर्दो गर्ने र आइसोलेसन व्यवस्थित गर्ने र उपचारको राम्रो प्रबन्ध गर्नेमा सरकारको ध्यान गएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

तपाईको प्रतिक्रिया