काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाका कारण विदेशमा रहेका सबै नागरिकलाई स्वदेश ल्याउने अवस्था नरहेको बताउनुभएको छ । वैदेशिक रोजगारीमा गएका र कोरोना भाइरसको संक्रमणका कारण फर्काउने नाममा सबैलाई फर्काउँदा व्यवस्थापन गर्न नसकिने ओलीले जानकारी गराउनुभयो ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रतिपक्षी कांग्रेसका सांसदहरूले विदेश गएका नागरिकलाई कहिले ल्याउने हो भनेर प्रश्न गरेका थिए । विदेशमा समस्यामा परेका नागरिकहरूलाई स्वदेश ल्याउनुपर्ने र व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग थियो ।
जवाफमा ओलीले भन्नुभयो, “मान्छे ल्याउने सेन्टिमेन्ट (भावना)मा ह्वारह्वारी मान्छे ल्याएर क्वारेन्टाइनमा पनि राख्न नसक्ने, केही पनि गर्न नसक्ने र कोरोना मात्रै फैलाउने अनि देशै सोत्तर बनाउने ? त्यस प्रकारको भद्रगोल सिर्जना गर्ने मनस्थितिमा छैनौं ।”
“भित्र भएका नागरिकको सुरक्षा हुनुर्पयो र बाहिर भएकाको समस्या समाधान हुनुर्पयो । देशभित्रका नागरिकहरूको सुरक्षा प्रबन्ध यथोचित गरेर बाहिर रहेकाको समस्या समाधान गर्नेमा सरकार स्पष्ट, दृढ र क्रियाशील छ” उहाँले भन्नुभयो ।
श्रम गन्तव्य मुलुकमा रहेका दूतावाससँग निरन्तर सम्पर्कमा रहेको बताउँदै उहाँले कस्ता नागरिकलाई ल्याउने, कस्तो समस्यामा परेकालाई स्वदेश ल्याउने र उनीहरूको स्वदेशमा कसरी व्यवस्थापन गर्ने भन्ने योजना बनेपछि मात्रै अगाडि बढ्ने बताउनुभयो ।
चिन्ता गर्नु पर्दैन भन्नुभएको छ । त्यहाँको दूतावाससँग सम्पर्कमा छौं । ह्वारह्वारी मान्छे ल्याएर कोरोनामात्रै फैलाउने र देशै सोत्तर बनाउने मनस्थितिमा छैनौं । भित्र भएकाको सुरक्षा हुनुर्पयो र बाहिरह भएकाको संरक्षण हुनुर्पयो”, उहाँले भन्नुभयो ।
वैदेशिक रोजगारीका लागि नेपाली गएका मुलुकहरू कतार, यूएई, बहराइन, ओमान, साइप्रसलवगायतका मुलुकका प्रधानमन्त्री, राष्ट्रपति र उपराष्ट्रपतिहरूसँग आफूले कुरा गरेको बताउँदै उनले ती देशमा रहेका नेपाली समस्यामा नपर्ने बताउनुभयो । ती देशले नेपालीलाई समस्या भएमा सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।
अहिले ४० देखि ४५ लाख नेपाली नागरिक विदेशमा रहेको अवस्थामा सबैलाई ल्याउन सक्ने अवस्था नरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । अमेरिका, कुवेतलगायत मुलुकले नेपालमा रहेका केही सय आफ्ना नागरिकलाई विमान चर्टर गरेर लगेजस्तो अवस्था विदेशबाट नेपाली ल्याउन सहज नहुने प्रधानमन्त्रीको भनाइ छ ।