कोरोना सङ्क्रमित युवकलाई उपचारका लागि प्रादेशिक अस्पताल विराटनगर पठाइयो

Halesi Khabar
0 Shares

खोटाङ, ६ जेठ । कोरोना सङ्क्रमण पुष्टि भएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय एक युवकलाई उपचारका लागि विराटनगर पठाइएको छ । सोमबार साँझ पिसिआर परीक्षण गर्ने क्रममा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएलगत्तै आइसोलेसनमा राखिएका युवकलाई उपचारका लागि मङ्गलबार अपरान्ह एम्बुलेन्समार्फत विराटनगरस्थित कोरोना अस्पताल पठाइएको हो ।

सङ्क्रमण पुष्टि भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको उनको आठ जनाको परिवार, उनीसँगै बसमा यात्रा गरेर आएका व्यक्ति, उनको संसर्गमा बसिसकेका व्यक्ति लगायतगरी ४३ जनाको पिसिआर टेष्ट गर्न वीपी कोइराला स्वास्थ्य विज्ञा प्रतिस्ठान घरान पठाइएको नगर उपप्रमुख बिमला राईले बताउनुभयो । “होम क्वारेन्टिनमा बसेपछि उनी गाउँकै खानेपानी योजनाको काममा संलग्न भएकाले सो आयोजनाको काममा संलग्न सबैको पिसिआर टेष्ट गर्ने तयारी गरिएको छ”, उहाँले भन्नुभयो, “हाल सङ्क्रमित युवकसँगै यात्रा गरेका व्यक्तिको खोजी भइरहेको छ ।”

गत वैशाख–१२ गते राजधानी काठमाडौँबाट बा ४ ख २२११ नम्बरको बसमार्फत उनीसँगै अन्य स्थानीय तहका व्यक्तिले समेत यात्रा गरेको अनुमान गरिएको छ । शहरमा बसिरहेको अवस्थामा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको मारमा परेका स्थानीय बासिन्दालाई नगरपालिकाले उद्दार गरेर गाउँ ल्याउनेक्रममा उनीसहित ५१ जना सो बसमार्फत गाउँ आएका थिए ।

नगरपालिकाले उद्दार गरेर गाउँ ल्याएपछि उनी होम क्वारेन्टाइनमा बसेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले अहिले सङ्क्रमित युवकको गाउँसँगै रहेको हलेसी बजारलाई पूर्णरुपमा अनिश्चितकालका लागि बन्द गरेको छ ।

यसअघि बिहान र बेलुका अत्यावश्यक सामग्री किनमेलका लागि हलेसीबजार खुला गर्ने गरिएको भएपनि मङ्गलबार बिहानदेखि पूर्णरुपमा ठप्प पारिएको उपप्रमुख राईले बताउनुभयो । हलेसीमा हिँडडुल गर्न, सवारी साधन चलाउन तथा एक वडाबाट अर्को वडा आवतजावतमा समेत पूर्णरुपमा रोक लगाइएको छ ।

बन्दाबन्दीका कारण राजधानी काठमाडौँमा रोकिएर बसेका एक हजार ३१८ जना नगरबासीलाई नगरपालिकाले गाडी पठाएर गत वैशाख–१२ र १३ गते उद्दार गरेर ल्याएको थियो । नगरपालिकाले गाडी पठाएर ल्याएको नगरबासीलाई अनिवार्यरुपमा १४ दिनसम्म होम क्वारेन्टिनमा बस्नेगरी दश बुदे कबुलियतनामा गराएको थियो ।

नगरपालिकाले गत शुक्रबार ३३ जनाको स्वाब सङ्कलन गरेर धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्न पठाएको थियो । स्वाब सङ्कलन गरेर पठाइएकामध्ये २८ जनाको परीक्षण गर्दा ती युवकको स्वाबमा कोरोना पोजेटिभ देखिएपछि बाँकी पाँच जनाको परीक्षण गर्न रोकिएको जनाइएको छ ।

नगरपालिकाले उद्दार गरेर ल्याएको व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि जिल्लाबासी त्रसित बनेका छन् । नगरपालिकाले काठमाडौँमा अलपत्र परेका नागरिकलाई उद्दार गर्ने नाममा जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलाएको भन्दै सामाजिक सञ्जालमार्फत आलोचना शुरु भएको छ ।

तपाईको प्रतिक्रिया