खोटाङ, ६ जेठ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा कोरोना भाइरसको सङ्क्रमित व्यक्ति फेला परेसँगै छिमेकी वडामा उच्च सतर्कता अपनाइएको छ । काठमाडौँबाट उद्दार गरेर ल्याइएका २० वर्षीय युवकमा सङ्क्रमण देखिएपछि वडा नम्बर–३ च्यास्मिटारस्थित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण वडास्तरीय समन्वय समितिले एक टोलबाट अर्को टोलमा जान रोक लगाएको छ ।
एक टोलबाट अर्को टोलमा जानै पर्ने भए वडाले तोकेको सम्पर्क व्यक्तीको अनुमति लिएर मात्र जान पाइने नियम बनाइएको वडाध्यक्ष भलाराज राईले बताउनुभयो । अनुमति लिन साविकको नौँवटै वडामा दुई जनाका दरले सम्पर्क व्यक्ति तोकिएको छ ।
यस्तै, टोलमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने, वडामा खाद्यान्न वाहेकका अन्य पसल खोल्न नपाइने, खाद्यान्न पसल पनि बिहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्र खोल्न पाइने नियम बनाइएको छ । लकडाउनको पालना एवम् वडास्तरीय समन्वय समितिले बनाएको नियम पालना गराउन मंगलबारदेखि प्रहरीचौकी च्यास्मिटारका प्रहरीमार्फत माइकिङ शुरु गरिएको छ ।
प्रहरीमार्फत माईकिङ गर्दै लकडाउन पालना भए÷नभएको विषयमा टोल टोलमा अनुगमन पनि गरिने वडाध्यक्ष राईले जानकारी दिनुभयो । हलेसीमा भेटिएका सङ्क्रमित युवकलाई उपचारका लागि विराटनगर पठाइएको छ ।