खोटेहाङ गाउँपालिकाको कोरोना नियन्त्रण कोषमा रु १७ लाख ४२ हजार जम्मा

Halesi Khabar
0 Shares

खोटाङ, ७ जेठ । खोटेहाङ गाउँपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा रु १७ लाखभन्दा बढी रकम सङ्कलन भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न आवश्यक गतिविधि सञ्चालनका लागि गाउँपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा शुभेच्छुकदाताबाट रु १७ लाख ४२ हजार ७४० रकम जम्मा भएको हो ।

गाउँपालिकाका ४९ जना गाउँसभा सदस्यबाट प्राप्त भएको रु पाँच लाख ७६ हजार, गाउँपालिकामा कार्यरत सबै कर्मचारीबाट प्राप्त रु ९९ हजार ८६९, शिक्षक तथा कर्मचारीबाट रु दुई लाख ४१ हजार ५९१ रकम कोषमा जम्मा भएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बताउनुभयो । यस्तै, युवा नेता राजन बञ्जराबाट रु पाँच हजार १०० र स्थानीय व्यवसायी नारायणप्रसाद फुयाँलबाट रु सात हजार ५०० रकम प्राप्त भएको जनाइएको छ ।

मौज्दात रु तीन लाख १२ हजार ६७९ रहेको विपद व्यवस्थापन कोषमा आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नम्बर १ कोरोना जनसुरक्षा कोषबाट रु पाँच लाख जम्मा भएको जनाइएको छ । महामारीका विरुद्ध सहयोग गरेर हातेमालो गर्न इच्छुक शुभेच्छुक दाताले प्रदान गरेको सहयोग रकम कोषमा अद्यावधिक गर्दै जाने गाउँपालिका प्रमुख प्रदिप राईले जानकारी दिनुभयो ।

गाउँपालिकाले गाउँसभाबाट विनियोजन गरिएको विभिन्न योजना तथा कार्यक्रमको रु २९ लाख ४८ हजार समेत बजेट रकमान्तर गरेको छ । कोरोनाविरुद्धको गतिविधि सञ्चालनका लागि कर्मचारी र पदाधिकारी तालिम तथा अभिमुखीकरण शिर्षकको रु तीन लाख, अवलोकन भ्रमण कार्यक्रमको रु पाँच लाख, न्यायिक समितिको पुर्नताजकी तालिमको रु आठ लाख, सुरक्षित आप्रवासन परियोजना (सामी)को साझेदारी कार्यक्रमको रु छ लाख ४८ हजार र अध्यक्ष कप भलिबल प्रतियोगिता तथा वार्षिकोत्सवको रु सात लाख बजेट विपद व्यवस्थापन कोषमा रकमान्तर गरिएको जनाइएको छ ।

विपदको समयमा विपद व्यवस्थापन कोषको नाममा खोलिएको खाता नम्बर २०६००३०७०२०००६ मा रकम जम्मा गरेर महामारीबाट प्रत्यक्ष पीडितलाई सहयोग गर्न गाउँपालिकाले आग्रह गरेको छ । जिल्लाका अन्य स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा विपद व्यवस्थापन कोष खडा गरेर रकम जम्मा गरिरहेका छन् ।

दश स्थानीय तह रहेको जिल्लामा राजधानी काठमाडौँबाट उद्दार गरेर ल्याइएका एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्लाबासी त्रसित बनेका छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानका २० वर्षीय युवक कोरोना सङ्क्रमित रहेको पुष्टि भएपछि उक्त नगरपालिका अनिश्चितकालीन बन्द गरिएको छ ।

तपाईको प्रतिक्रिया