बन्दाबन्दी अवधिभर रावाबेँसी गाउँपालिकाको सबै नाका बन्द

Halesi Khabar
0 Shares

खोटाङ, ८ जेठ । रावाबेँसी गाउँपालिकाले सिमा नाकामा हुने आवत–जावतमा रोक लगाएको छ । हलेसी तुवाचुङ नगरपालिकामा एक युवकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि उक्त गाउँपालिकाले बन्दाबन्दीको अवधिभर सबै प्रकारका गाडी तथा पैदल आवत–जावतमा रोक लगाएको हो ।

गाउँपालिकास्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले गाउँपालिकाको सबै नाकाबाट हुने आवत–जावत बन्द गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख लिलानाथ निरौलाले बताउनुभयो । “छिमेकी स्थानीय तहमा कोरोना सङ्क्रमित भेटिएसँगै आफ्नो क्षेत्रमा पनि गाउँपालिकाभित्र सञ्चालित होटल पूर्णरुपमा बन्द गराउन गर्न निर्देशन दिइएको छ”, उहाँले भन्नुभयो, “आगामी जेठ १६ गतेसम्म गाउँपालिकाको कार्यालयबाट अत्यावश्यक बाहेकका अन्य कामसमेत बन्द गरिएको छ ।”

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न नेपाल सरकारले लागू गरेको बन्दाबन्दीको अवधिभर गाउँपालिकाभित्रका खाद्य पसल दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म र साँझ ४ बजेदेखि ५ बजेसम्म मात्र खुला गरिने जनाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानका २० वर्षीय युवक कोरोना सङ्क्रमित रहेको पुष्टि भएपछि उक्त नगरपालिका अनिश्चितकालीन बन्द गरिएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा राजधानी काठमाडौँबाट उद्दार गरेर ल्याइएका हलेसीका एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्लाबासी त्रसित बनेका छन् । जिल्लामै पहिलो पटक हलेसीमा कोरोना सङ्क्रमित भेटिएपछि सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा अपनाउनुपर्ने सतर्कतालाई कडाइका साथ लागू गरेका छन् ।

तपाईको प्रतिक्रिया