काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ४४४ पुगेको छ । बीपी कोइराना स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा थप १७ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या ४४४ पुगेको हो ।
बिहीबार सङ्क्रमण पुष्टि भएकाहरुमा झापाका १५ जना, धनकुटा र सुनसरीका एक÷एक जना रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो । झापाको कचनकवल गाउँपालिका वडा नम्बर ३, ६ र ८ का १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
उनीहरु १८ देखि ४६ वर्ष उमेर समूहका रहेका छन् । त्यस्तै धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
योसँगै प्रदेश एकमा मात्रै सङ्क्रमितको संख्या ७६ पुगेको छ । प्रदेश १ मा सबैभन्दा धेरै उदयपुरमा ३३ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै झापामा २७ जना, धनकुटामा ७ जना, मोरङमा ४ जना, सुनसरीमा ३ जना, खोटाङमा एक जना र भोजपुरमा एक जनामा सङ्क्रमण पुष्टि भएको ।
प्रदेश १ मा सङ्क्रमित भएकामध्ये २६ जना निको भएर घर फर्किएका छन् । नेपालभर सङ्क्रमण पुष्टि भएकामध्ये अहिलेसम्म ४५ जना निको भएका छन् ।
त्यस्तै कोरोना भाइरसको सङ्क्रमणबाट सिन्धुपाल्चोककी एक महिला र बाँकेका एक पुरुषको मृत्यु भएको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभरमा अहिलेसम्म तीन लाख २८ हजार ११५ जनाले ज्यान गुमाइसकेका छन् ।