खोटाङ, ८ जेठ । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग मार्फत आफैले पहल गरेर ल्याएको स्वास्थ्य सामग्री आज (बिहिबार) जिल्ला अस्पताल खोटाङलाई हस्तान्तरण गर्नुभएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणको लागि पहल गरिएको स्वास्थ्य सामग्री प्रतिनिधिसभा सदस्य भट्टराईले अस्पताल सञ्चालन तथा विकास समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङलाई हस्तान्तरण गर्नुभएको हो ।
स्वास्थ्य सेवा विभागले अस्पताललाई उपलब्ध गराउनेगरी खोटाङबाट निर्वाचित सांसद भट्टराईमार्फत ५०० थान आरडिटि किट, ५०० थान पिसिआर किट, ५० थान पिपिइ, २० थान थर्मल गन, ५० थान सुकभर, ३० थान सेफ्टी चस्मा, ५० थान सर्जिकल क्याप, २० थान फेस सिल्ड, ५० थान केएन नाएन्टीफाईब मास्क, एक हजार थान नर्मल मास्क, १०० थान ग्लोब्स र स्यानिटाइजर १६ लिटर उपलब्ध गराएको थियो । जिल्लाको एक मात्र अस्पतालमा आवश्यक स्वास्थ्य सामग्री अभावमा कोरोना परीक्षणको काम नै रोकिएकाले सरकारले चाइन (चिन)बाट खरिद गरेर ल्याएको स्वास्थ्य सामग्री विभागमार्फत ल्याएर हस्तान्तरण गरिएको सांसद भट्टराईले बताउनुभयो ।
दश स्थानीय तह रहेको जिल्लाको एक मात्र सरकारी अस्पतालमा कोरोना भाइरसको सङ्क्रमण परीक्षण गर्ने स्वास्थ्य सामग्री अभाव भएपछि तत्काल उपलब्ध गराउन सङ्घ तथा प्रदेश सरकारसमक्ष पटक–पटक माग गरिएको समन्वय समितिका संयोजक चाम्लिङले बताउनुभयो । “अस्पतालमा आवश्यक सामग्री नहुँदा कोरोना परीक्षणको काम नै रोकिएको छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य सेवा विभागले थोरै भएपनि स्वास्थ्य सामग्री उपलब्ध गराएसँगै परीक्षणको काम शुरु गर्ने तयारी गरेका छौँ ।”
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहनुभएका सांसद भट्टराईको पहलमा प्राप्त स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, अस्पतालका स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका स्थानीय तहले आ–आफ्नो क्षेत्रमा स्थापना गरेको कोरोना रोकथान तथा नियन्त्रण कोषमा जम्मा भएको रकमले स्वास्थ्य सामग्री खरिद गरेर परीक्षण गरिरहेका छन् ।
दश स्थानीय तह रहेको जिल्लामा राजधानी काठमाडौँबाट उद्दार गरेर ल्याइएका एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्लाबासी त्रसित बनेका छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानका २० वर्षीय युवक कोरोना सङ्क्रमित रहेको पुष्टि भएपछि उक्त नगरपालिका अनिश्चितकालीन बन्द गरिएको छ ।
कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएलगत्तै आइसोलेसनमा राखिएका युवकलाई उपचारका लागि मङ्गलबार एम्बुलेन्समार्फत विराटनगरस्थित कोरोना अस्पताल पठाइएको छ । उनको आठ जनाको परिवार, उनीसँगै बसमा यात्रा गरेर आएका व्यत्ति लगायतगरी ४३ जनाको पिसिआर टेष्ट गर्न वीपी कोइराला स्वास्थ्य विज्ञा प्रतिस्ठान घरान पठाइएको छ ।
स्वाब परीक्षणमा पठाइएका उनीहरु सबैको रिपोर्ट आउन बाँकी रहेको नगर उपप्रमुख बिमला राईले बताउनुभएको छ । गत वैशाख–१२ गते राजधानी काठमाडौँबाट बा ४ ख २२११ नम्बरको बसमार्फत उनीसँगै अन्य स्थानीय तहका व्यक्तिले समेत यात्रा गरेको अनुमान गरिएको छ ।