एकल महिला घरैमा मृत फेला, हत्या आशङ्कामा युवक पक्राउ

Halesi Khabar
0 Shares

खोटाङ, ९ जेठ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–५ चिप्रिङ पोखरेटोलकी ६१ वर्षीया एकल महिला रत्नकुमारी राई आफ्नै घरमा मृत फेला परेकी छन् । दुई छोरीको विवाह भइसकेको र श्रीमानको पनि मृत्यु भइसकेको अवस्थामा एक्लै घरमा बस्दै आएकी रत्नकुमारीको शव आज (शुक्रबार) बिहान घाँटीको÷दायाँ सामान्य चोट लागेको अवस्थामा मृत फेला पारिएको हो ।

एकल महिलाको हत्या गरेको आशङ्कामा सोही ठाउँका ३१ वर्षीय मुगाधन भनिने मुकेश राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायण चिमोरियाले बताउनुभयो । “एकल महिलाको गएराति १० बजे घाँटी थिचेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ”, उहाँले भन्नुभयो, “पक्राउ परेका मुकेशले प्रहरी सामु ‘मान्छे मारेर आएको’ भनेका छन् ।”

महिलाको हत्यापछि शुक्रबार बिहान सिम्पानीतर्फ जाँदै गरेका मुकेशलाई प्रहरीले बाटैबाट नियन्त्रणमा लिएको गाउँपालिकाका प्रमुख प्रदीप राईले बताउनुभयो । पक्राउ परेका मुकेशलाई मुद्दा दर्ता गरेर बारवाही गर्नका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलको अनुसन्धान गर्न अहिले गाउँपालिका प्रमुख राई, उपप्रमुख कविता राई, ईलाका प्रहरी कार्यालय खोटाङ बजारका प्रहरी निरीक्षक सुर्यनारायण माझी लगायत पुगेका छन् । स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि वडासदस्य अर्जुन राईसँगै छिमेकीलाई हेर्न पठाउँदा महिला मृत फेला परेकी थिइन् ।

महिलाको शव परीक्षण गर्न जन्तेढुङ्गा गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । एकल महिला हत्याको कारण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक आमोदकुमार खेरवारले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया