काठमाडौँ । नेपालमा कोरोना सङ्क्रमितको संख्या ५०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएको हो ।
मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले सङ्क्रमित हुनेमा कैलाली जिल्लाका ३ जना, डडेलधुराका १ जना, बैतडीका १ जना, बाँकेका १४ जना र मोरङका १ जनामा कोरोना सङ्क्रमण देखिएको बताउनुभयो ।
शुक्रबार बिहान थप ३० जनामा सङ्क्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार डडेलधुरा र बैतडीमा पहिलोपटक सङ्क्रमण देखिएको हो ।
बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसनमा २१ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । यसरी निको हुनेको संख्या ७० पुगेको छ । डिस्चार्ज हुनेमा महिला ९ जना र पुरुष १२ जना रहेका छन् ।
मन्त्रालयका अनुसार शुक्रबारसम्म नेपालमा आरडीटी विधिबाट ८२ हजार १ सय १६ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ४२ हजार ४ सय ८८ परीक्षणहरु गरिएका छन् ।
शुक्रबारको अपडेटमा क्वारेन्टाइनमा २७ हजार ८२९ जना रहेका छन् । हालसम्म आइसोलेसनमा देशभरी ४३३ जना रहेका छन् ।