जिल्ला अस्पताल खोटाङलाई ब्रिटिस गोर्खा वेलफेयरको स्वास्थ्य सामग्री

Halesi Khabar
0 Shares

खोटाङ, १० जेठ । ब्रिटिस गोर्खा वेलफेयर दिक्तेलले जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । कोरोना भाइरसको सङ्क्रण रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यका साथ वेलफेयरले अस्पताललाई सर्जिकल मास्क, गाउन, ग्लोब्स लगायतका स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

वेलफेयरले ५०० थान सर्जिकल मास्क, १०० थान डिस्पोजेबल सर्जिकल गाउन, १०० थान फेस सिल्ड, १०० थान केएन ९५ मास्क, २०० थान सर्जिकल ग्लोभ्स, १०० थान सुकभर, १०० थान हेड क्याप र ५०० थान डिस्पोजेबल ग्लोभ्स प्रदान गरेको जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख रविनकुमार फुयाँलले बताउनुभयो । अस्पतालका लागि वेलफेयरका प्रमुख सुवास राईले शनिबार अस्पताल सञ्चालन तथा विकास समितिका सदस्य ध्रुबलक्ष्मी राईलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

जिल्लाको एक मात्र सरकारी अस्पताललाई यसअघि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले पनि स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विशाल भट्टराईको पहलमा स्वास्थ्य सेवा विभागले अस्पताललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

सामग्री नहुँदा कोरोना परीक्षणको काम नै रोकिएको अवस्थामा वेलफेयर तथा स्वास्थ्य सेवा विभागले स्वास्थ्य सामग्री उपलब्ध गराएसँगै परीक्षणको कामलाई अगाडि बढाइने अस्पताल सञ्चालन तथा विकास समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताउनुभयो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका स्थानीय तहले भने आ–आफ्नो क्षेत्रमा स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा भएको रकमले स्वास्थ्य सामग्री खरिद गरेर परीक्षण गरिरहेका छन् ।

दश स्थानीय तह रहेको जिल्लामा हलेसी तुवाचुङ नगरपालिकाका २० वर्षीय एक युवकलाई कोरोना सङ्क्रमण देखिएको छ । नगरपालिकाले काठमाडौँबाट उद्दार गरेर ल्याएको युवकमा सङ्क्रमण देखिएलगत्तै उनलाई विराटनगर लगेर उपचार थालिएको छ ।

तपाईको प्रतिक्रिया