खोटाङ, १० जेठ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका जनप्रतिनिधिले राज्यबाट आफूले पाउने सुविधाबाट खरिद गरेर बिपन्न परिवारलाई राहत वितरण गरेका छन् । वडा अध्यक्ष र सदस्यको तीन÷तीन महिनाको सेवासुविधा तथा जिल्ला समन्वय समिति सदस्य, कार्यपालिका सदस्य लगायतको सहयोगमा ज्यालादारी काम गरेर जीवन निर्वाह गर्दै आएका बिपन्न परिवार तथा संरक्षण बिहिन एकल महिला लगायत ९१ परिवारलाई राहत वितरण गरेका हुन् ।
कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको ‘लकडाउन’का कारण दुई महिनादेखि दैनिक ज्यालादारी काम गर्न नपाउँदा हातमुख जोड्न नसक्ने अवस्थामा पुगेका परिवारलाई चामल २५ केजी, तेल १ पोका र १ केजी दाल उपलब्ध गराइएको वडाध्यक्ष लोकेन्द्र राईले बताउनुभयो ।
खाद्यान्न खरिद गर्न वडाध्यक्ष राईले रु ४० हजार, जिल्ला समन्वय समितिका सदस्य चर्चबहादुर विश्वकर्माले रु १८ हजार, जिल्ला समन्वय समितिकी सदस्य भगवती प्रधानले रु १० हजार, कार्यपालिका सदस्य ज्ञानबहादुर माझीले रु १५ हजार, वडा सदस्यहरु राजबहादुर राई र रमा विश्वकर्माले रु १५÷१५ हजार उपलब्ध गराएका थिए ।
यस्तै, जनता मावि भण्डारीडाँडाका प्रधानाध्यापक पवन राईले रु १० हजार र राम्चे निकेतन मावि इजाराका प्रधानाध्यापक इश्वर लम्सालले राहत सामग्री वडा÷वडामा पु¥याउन लाग्ने ढुवानी खर्चको व्यवस्था गरेको जनाइएको छ ।
वडाका टोलटोलमा पुगेर शुक्रबार र शनिबार गरिएको राहत वितरणमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका सचिव तथा प्रदेश कमिटी सदस्य रामप्रसाद दंगाल, राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य बिनोद राई, नेपाल विद्यार्थी सङ्घ खोटाङका सचिव राजदेश राई, युवा सङ्घ दिप्रुङ चुइचुम्मा गाउँपालिकाका संयोजक सुकेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।