खोटाङ, १२ जेठ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न अग्रभागमा बसेर काम गर्ने खोटाङका ८५ जनाको पीसीआर परीक्षणका लागि स्वाब सङ्लन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएको छ । जिल्लामा क्रियाशील स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, सवारी चालक, बैंकरसहित ८५ जनाको स्वाब सङ्लन गरेर सोमबार परीक्षणका लागि काठमाडौँ पठाइएको हो ।
जिल्ला अस्पताल खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको संयुक्त संयोजनमा दिक्तेलस्थित सरस्वती माविमा सङ्कलन गरिएको थियो । यसमध्ये पत्रकार पाँच जना, सुरक्षाकर्मी (नेपाल प्रहरी) आठ जना, स्वास्थ्यकर्मी १४ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कर्मचारीहरु २० जना, विभिन्न बैंकका कर्मचारीहरु ८ जना र दिक्तेल माटिकोरे कभर्ड हल क्वारेन्टाइनमा रहेका १५ जनागरी ८५ जनाको स्वाब सङ्लन गरेर पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तीर्थराज आचार्यले बताउनुभयो ।
यसबाहेक जिल्लामा यसअघि १०५ जनाको पीसीआर परीक्षण गरिसकिएको र यसमध्ये एक जनामा कोरोना भाइरस पुष्टि भएको जिल्ला अस्पतालका चिकित्सक शैलेष श्रेष्ठले बताउनुभयो । हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानका २० वर्षीय युवकमा कोरोना पुष्टि भएपनि उनीसँग सम्पर्कमा रहेका ४३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको नगरप्रमुख इवन राईले बताउनुभएको छ ।