दिक्तेलको क्वारेन्टिनमा सौचालय अभाव हुँदा समस्या ः अनुगमन समिति

Halesi Khabar
0 Shares

खोटाङ, १३ जेठ । खोटाङमा गठित कोभिड–१९ जिल्लास्तरीय मानव अधिकार अवस्था अनुगमन समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित क्वारेन्टिनको अनुगमन गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार एसोसियसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघ नेपालबीच नेटवर्कमा गठित समितिले दिक्तेलबजारस्थित माटिकोरे कभर्ड हलस्थित क्वारेण्टिनको अनुगमन गरेको हो ।

मङ्गलबार बिहान गरिएको अनुगमनको क्रममा पर्याप्त सौचालय (चर्पी) नभएको पाइएको समितिका संयोजक पुर्णमायाँ तामाङले बताउनुभयो । तीन महिलासहित १९ जना रहेको क्वारेन्टिनस्थलमा महिला र पुरुषको लागि एक–एक गरी दुई वटा मात्र चर्पी रहेको पाइएको संयोजक तामाङको भनाइ छ ।

महिला र पुरुषका लागि एउटै हलमा त्रिपालको बार लगाई दुई कोठा बनाइएको छ । उक्त क्वारेन्टिनमा ३६ वेड रहेका छन् । क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड, २०७६ बमोजिम क्वारेन्टिनमा बस्ने तीन व्यक्ति बराबर एक चर्पीको व्यवस्था हुनुपर्ने उल्लेख छ ।

यसैबीच, अनुगमन समितिको मङ्गलवार बिहानै बसेको बैठकले जिल्लास्थित दश वटै स्थानीय तहका मानव अधिकार अवस्था अनुगमन गर्ने निर्णय गरेको छ । सात सदस्यीय समितिले वर्तमान जटिल परिस्थतिमा कोभिड–१९ बिरुद्ध लड्न नेपाल सरकारबाट भइरहेका कार्यहरु, स्वास्थ्योपचारको व्यवस्था, आम उपभोक्ताका अधिकार लगायतका अवस्थाहरुको अनुगमन गर्ने जनाइएको छ ।

अनुगमन समितिले अभिव्यक्ति स्वतन्त्रता, न्याय प्रशासनमा पहुँच, नागरिकका कर्तव्य लगायत कोभिड–१९ बाट प्रभावित अन्य मानव अधिकारका अवस्थाको अनुगमन गरी स्थानीयस्तरमा देखिएका समस्या समाधानमा सहजीकरण गर्ने तथा राष्ट्रिय मानव अधिकार आयोगका कार्यालयहरुमा तथ्य तथा सूचनाहरु सम्प्रेषण गर्ने जनाइएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ३०४ शैयाको क्वारेन्टाइन र १३ शैयाको आइसोलेसन वार्ड निर्माण गरिएको छ । जिल्लाका अधिकांश स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टिन मापदण्ड विपरित रहेको गुनासो आएको छ ।

जनप्रतिनिधिले होम क्वारेन्टिन भन्दै घरैमा बस्न दिएपछि जिल्लामा निर्माण गरिएका क्वारेन्टिनमा बस्नेको सङ्ख्या न्यून देखिएको छ । क्वारेन्टिन बस्ने व्यक्तिलाई सम्बन्धित स्थानीय तहले खाना तथा खाजा र स्वास्थ्य उपचारको व्यवस्था गरेका छन् ।

तपाईको प्रतिक्रिया