भारतबाट आउने सबैको पिसिआर परीक्षण गरेर मात्र घर पठाउन स्थानीय तहलाई आग्रह

Halesi Khabar
0 Shares

खोटाङ, १३ जेठ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले भारतबाट जिल्ला भित्रिने व्यक्तिलाई सिमानामै पिसिआर परीक्षण गरेर मात्र गाउँ ल्याउने व्यवस्था गर्न स्थानीय तहलाई आग्रह गरेको छ । भारतबाट जथाभावी भित्रिने जिल्लाबासीबाट सङ्क्रमण पनि भित्रिने खतरा बढेको भन्दै समितिले उनीहरुलाई नेपाल–भारत सिमानामै होल्ड गरेर क्वारेन्टिनमा राख्ने र पिसिआर परीक्षण गरेपछि मात्र घर ल्याउने व्यवस्था गर्न स्थानीय तहलाई आग्रह गरेको हो ।

परीक्षणकाक्रममा पिसिआर रिपोर्ट नेगेटिभ देखिएका व्यक्तिलाई सम्बन्धित स्थानीय तहमा ल्याउने तर, पोजिटिभ रिपोर्ट देखिएका व्यक्तिलाई तत्काल अस्पतालमा पु¥याएर उपचारको व्यवस्था गर्न जिल्लाका दश वटै स्थानीय तहलाई आग्रह गरिएको समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताउनुभयो । “जिल्ला भित्रिने व्यक्तिलाई नेपाल–भारत सिमानाकै क्वारेन्टिनमा राख्ने, पिसिआर परीक्षण गर्ने, उपचारको व्यवस्था गर्ने, घर ल्याउने लगायतका खर्च सम्बन्धित स्थानीय तहले व्यहोर्ने तथा स्थानीय तहलाई गर्नुपर्ने थप सहयोगका लागि प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो, “भारतबाट भित्रिने जिल्लाबासीको संख्या अनुसार उनीहरुलाई राख्ने क्वारेन्टिनको व्यवस्था गर्नसमेत स्थानीय तहलाई आगह गरिएको छ ।”

समितिले भारत लगायतका मुलुकबाट रोजगार गुमाएर घर फर्कने नेपालीलाई गाउँमा व्यवस्थापन गर्न तयारी थाल्न पनि आग्रह गरेको छ । रोजगार गुमाएर आएका नागरिकका लागि गाउँमै रोजगारीको वातावरण सिर्जना गर्नुपर्ने अवस्था आएकाले त्यसको तयारीका लागि अध्ययन थाल्न आग्रह गरिएको संयोजक चाम्लिङले बताउनुभयो ।

समितिले यही जेठ २० गतेभित्र विदेशबाट फर्कने नागरिकको संख्या, उनीहरुलाई दिन सकिने रोजगार, स्थानीय श्रोत साधन तथा खनिज श्रोतको पहिचान गर्न आग्रह गर्ने निर्णय गरेको छ । यस्तै, हाल भइरहेका विकास निर्माणका काम, थप गर्न सकिने विकासका सम्भावित कार्य, कृषियोग्य जमिन, खाली जमिन, उत्पादन गर्न सकिने सम्भावना, कृषि, पशुपालन, फलफुल खेती, नगदेबालीको अवस्था, सम्भाव्यता बोेकेका आयमुलक व्यवसाय लगायतका बारेमा अध्ययन गर्न आग्रह गरिएको छ ।

समितिले आ–आफ्नो पालिकामा सञ्चालित एम्बुलेन्स तथा एम्बुलेन्सका रुपमा प्रयोग गर्न सकिने सवारी साधनसमेत तयारी अवस्थामा राख्न स्थानीय तहलाई आग्रह गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण जिल्लामा पनि फैलन सक्ने भन्दै सङ्क्रमितलाई तत्काल उपचारमा पठाउन एम्बुलेन्स तथा सवारी साधन तयारी अवस्थामा राख्न आग्रह गरेको हो ।

यसैबीच, जिल्ला स्वास्थ्य कार्यालय खोटाङमा प्राप्त भएको र बाँकी रहेको पिसिआर भिटिएम मापदण्ड, आवश्यकता र प्राथमिकताका आधारमा जिल्लाका दश वटै स्थानीय तहलाई उपलब्ध गराउने निर्णय गरिएको छ । सङ्क्रमित क्षेत्रलाई प्राथमिकता दिएर भिटिएम उपलब्ध गराउने, यसका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले सबै स्थानीय तहबाट तथ्याङ्क सङ्कलन गर्ने, पिसिआर टेष्टका लागि सङ्कलन गरिएका स्वाब ल्यावमा पु¥याउनेक्रममा लाग्ने यातायात लगायतको व्यवस्थापन सम्बन्धित स्थानीय तहमार्फत गराउने निर्णय गरिएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा २० वर्षीय एक युवकमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । गत सोमबार सङ्क्रमण पुष्टि भएको हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानका उनको अहिले प्रादेशिक अस्पताल विराटनगरमा उपचार भइरहेको जनाइएको छ ।

काठमाडौँबाट गत वैशाख–१२ गते उद्दार गरेर ल्याइएका उनको स्वास्थ्य अवस्था सामान्य रहेको नगरप्रमुख इवन राईले बताउनुभयो । उनीसँगै बसमा आएका र उनको परिवारसहित ४३ जनाको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ ।

तपाईको प्रतिक्रिया