तीन स्थानीय तहका सात जनाको आरडिटि रिपोर्ट पोजेटिभ, ऐसेलुखर्क अनिश्चितकालीन सिल

Halesi Khabar
0 Shares

खोटाङ, १६ जेठ । आरडिटि परीक्षणका क्रममा खोटाङका तीन स्थानीय तहका सात जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । आज शुक्रबार गरिएको आरडीटी परीक्षणका क्रममा ऐलेलुखर्क गाउँपालिकाका दुई, जेन्तेढुङ्गा गाउँपालिकामा तीन र हलेसी तुवाचुङ नगरपालिकाका दुई जनाको आरडिटि रिपोर्ट पोजेटिभ देखिएको हो ।

रिपोर्ट पोजेटिभ देखिएकाहरुको उमेर र ठेगानाको विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलले बताउनुभयो । आरडिटि पोजेटिभ देखिएका सबैजनालाई आइसोलेशनमा राखिएको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।

ऐसेलुखर्क गाउँपालिकाका ४८ जनाको आरडिटि परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ देखिएपछि गाउँपालिका सिल गरिएको छ । परीक्षणका क्रममा एक वडासचिव र एक स्वाथ्यकर्मीको रिपोर्ट पोजेटिभ देखिएपछि गाउँपालिकाले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै अनिश्चतकालीन सिल गरेको हो ।

अर्को आदेश नभएसम्मका लागि गाउँपालिकामा सवारीसाधन आवतजावत, व्यापार व्यवसायी लगायतका कामकाज बन्द गराइएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

हलेसी तुवाचुङ नगरपालिकामा आरडीटी पोजिटिभ देखिएकाको पीसीआरका लागि स्वाब सङ्लन गरेर विराटनगरस्थित कोशी अस्पताल पठाइएको जिल्ला अस्पताल खोटाङका चिकित्सक शैलेष श्रेष्ठले बताउनुभयो । यसअघि हलेसी तुवाचुङ नगरपालिकास्थित महादेवस्थानका २० वर्षीय एक युवामा कोरोना पुष्टि भएको थियो ।

केही हप्ताअघि साकेला गाउँपालिकामा पनि आरडिटि परीक्षणमा दुई जनामा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरुको स्वाब सङ्कलन गरेर धरानमा पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

तपाईको प्रतिक्रिया